
भुरीगाउँ, बर्दिया : विश्व वन्यजन्तु सप्ताहको अवसरमा बर्दियामा विभिन्न संघ–संस्थाहरुले पूर्व–पश्चिम राजमार्ग सरसफाई गरेका छन् । वन्यजन्तुहरु ओहोर–दोहोर गर्ने बाटोमा जथाभाबी प्लाष्टिकको बोतल, कागज तथा अन्य फोहोरहरुले बाटो दुर्घन्धित भएको र वन्यजन्तुहरुलाई बाटो पार गर्दा समस्या हुने भएकाले सहज वातावरण बनाउनका लागि सरसफाई अभियान सञ्चालन गरिएको जनाइएको छ ।
विश्व वन्यजन्तु सप्ताहको अवसरमा वैशाख १ गतेदेखी ७ गतेसम्म सप्ताहव्यापी रुपमा वन्यजन्तुका लागि सहज हुने काम गरी वन्यजन्तु सप्ताह हरेक वर्ष मनाउने गरिन्छ । सप्ताहका अवसरमा श्रीराम नगर उपभोक्ता समूह अन्तरगतका चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरुले सैनवार चेकपोष्टदेखि रम्मापुर चेकपोष्टसम्मको बाटो सरसफाई गरेका छन् ।
यसैगरी शिवपुर उभोक्ता समूह, ठाकुरद्वारा उपभोक्ता समूह, सुर्यपटुवा डल्लाको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु, महिला वातावरण समूहका महिला लगायत बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षणकर्मी, होटल व्यवसायी, सेन्स नेपाल लगायतका संघ–संस्थाबाट सहभागीहरु भएका थिए ।