onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : नगरको शैक्षिक गतिविधि सम्बन्धी अन्तरक्रिया सम्पन्न

विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण सिर्जना गर्न आवश्यक छ : नगर प्रमुख लम्साल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगरको शैक्षिक गतिविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ६ गते बुधबार एक कार्यक्रमको आयोजना गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विदेशी दातृ निकायहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा ठाकुरबाबा नगरपालिका भित्र शिक्षाका क्षेत्रमा भएको प्रगति तथा आगामी दिनमा अपनाउनु पर्ने रणनीतिक योजनाहरुको विषयमा छलफल गरिएको शिक्षा शाखा प्रमुख सिता भण्डारीले जानकारी दिनुभयो । कार्यविधी तथा नीति निर्माण गर्दा शिक्षा क्षेत्रलाई विकसित गराउन सकिने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको नगरपालिका प्रशासनले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले प्राविधिक धारको शिक्षा संचालन भएका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण सिर्जन गर्न आवश्यक रहेको बताउनु भयो । ठाकुरबाबा नगरपालिका कृषिको लागि सम्भावना बोकेको क्षेत्र भएको बताउँदै नगर प्रमुख लम्सालले कृषि अध्ययन गरेका विद्यार्थीहरुलाई कृषि क्षेत्रमा संलग्न गराउन बजेटनै छुट्याएर काम गरि रहेको बताउनु भयो । नगरपालिकाको धेरै जमिनमा धानखेती मात्र गरिने र अन्य समयमा बाँझो रहने समस्या रहेकोले मकै, भटमास, चैते धान लगायतका अन्य बालिहरुको पनि उत्पादनमा जोड दिने कार्यक्रमहरु संचालनको तयारी गरेको लम्सालले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर उप–प्रमुख विना कुमारी भट्टराईले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाई राख्नका लागि अभिभावकहरुका लागि अभिभावक शिक्षा पनि संचालन गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई पृष्ठपोषण प्रदान गराउन सकेमा मात्र विद्यार्थीहरुको पढाईमा सुधार हुने बताउँदै नगर उप–प्रमुख विना कुमारी भट्टराईले सामुदायिक विद्यालयमा पनि स्तरिय पढाई हुन्छ भन्ने विश्वास दिलाउन सकेमा सामुदायिक विद्यालयको सुधार हुने बताउनुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा ४४ प्रतिशत लगानी गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो । छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका निर्देशक गिरमान थापा, उप–सचिव राम प्रसाद शर्मा, शिक्षा शाखा प्रमुख सिता भण्डारी, शिक्षा सुपरीवेक्षक, वडा अध्यक्षहरु, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.