बर्दिया : ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले महिला जिविकोपार्जन क्लव स्थापना गरेको छ । ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँको सिको बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुलाई एकिकृत गरी सिको महिला जिविकोपार्जन क्लव गठन गरेको हो ।
सिको बचत तथा ऋण सहकारी संस्थाले बर्दियाको राजापुर नगरपालिका ६ मानपुरटपरामा प्रथम सिको महिला जिविकोपार्जन क्लव सम्मेलनसमेत गरेको छ । सिको बचत तथा ऋण सहकारी संस्थाले बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन, बारबर्दिया, राजापुर र गेरुवा गरी ५ वटा पालिकामा ११९ वटा क्लव गठन गरेको जनाएको छ । ११९ वटा क्लवमा २ हजार ६ सय महिलाहरु संगठित भएका छन् ।
सहकारीले महिला जिविकोपार्जन क्लव मार्फत मासिक नियमित बचत गर्ने गर्दछन भने क्लवमा संगठित सदस्यहरुलाई सहकारीले २५ हजारदेखि २ लाखसम्म विना धितो ऋण दिने समेत ब्यवस्था गरिएको सिको सहकारीका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो । सिको सहकारी लुम्बिी प्रदेशको उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कारबाट पुरस्कृत संस्था हो । महिला जिविकोपार्जन क्लव मार्फत विपन्न महिलाहरुको आर्थिक सशक्तिकरण गर्ने सिको बचत तथा ऋण सहिकारी संस्थाले लक्ष्य लिएको छ ।
सिको बचत तथा ऋण सहकारी संस्थाका आयोजनामा बर्दियाको ‘एकिकृत साकोस सञ्जालका लागि साझा प्रविधि’, ‘महिला सशक्तिकरण हाम्रो संकल्प वित्तिय सारक्षरता सहितको उद्यम आजको विकल्प’, ‘उद्यमशीलतामार्फत जीवन परिवर्तन’ भन्ने नारासहित प्रथम सिको महिला जीविकोपार्जन क्लव सम्मेलन २०७९ कार्यक्रम सम्पन्न भएको छ ।
सिको बचत तथा ऋण सहकारी संस्था ठाकुरबाबा नगरपालिका १ भुरीगाउँको आयोजनामा ‘उद्यमशीलता मार्फत जीवन परिवर्तन’ प्रथम सिको महिला जीविकोपार्जन क्लब सम्मेलन २०७९ राजापुर नगरपालिका ६ मानपुर टपरामा बुधबार सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओम देवी मल्ल रहनुभएको थियो भने राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरीको विशिष्ट आतिथ्यता साथै जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष एवं हाम्रो मध्यवर्ती साकोसका अध्यक्ष नवराज न्यौपाने लगायतका व्यक्तिहरूको आतिथ्यता रहेको कार्यक्रममा सामाजिक अभियन्ता, पत्रकार बबिता बस्नेतले उद्यमशिलता र जीवन परिवर्तन विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरि विषेश गरि महिलाहरुलाई उद्यमशील बन्नका लागि उत्प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष तथा बोर्ड सदस्य ओम देवी मल्ल लगायतका अधिकाँश वक्ताहरुले सम्पूर्ण महिला दिदिबहिनीहरु आजसम्म जुन अवस्थामा रहेपनि आफ्नो जीवनस्तर माथि उकास्नका लागि अब आफ्नै कमाईबाट नियमित बचत गर्नुपर्ने र घरायसी काममा मात्र सीमित नभएर केही न केही सिप सिकेर उद्यमशिलता मार्फत आफूहरु रोजगारीमा लाग्नुपर्ने र त्यो कार्य गर्नका लागि सहकारीले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
संस्थाले हालसम्म विभिन्न १ सय १९ वटा सिको जिविकोपार्जन क्लबहरू गठन गरेर महिला सशक्तिकरण र उहाँहरुलाई विभिन्न किसिमका सिप सिकाएर उद्यमी तथा नेतृत्व लिन सक्ने बनाउनका लागि निरन्तर लागिरहेको र यसलाई अझै वृहत बनाई अघि बढ्नका लागि कार्ययोजना निर्माण गर्न संस्था तयारी अवस्थामा रहेको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो ।
नयाँ वर्ष २०८० साललाई विशेष पर्व मानेर विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको कार्यक्रममा संस्थाले बचत संकलनको कार्यक्रम पनि संगसंगै गरेको थियो र विभिन्न किसिमका पर्व बचतमा गरि ३१ लाख १५ हजार रुपैयाँ संकलन भएको संस्थाका व्यवस्थापक भोविन्द्र बहादुर सुनारले जानकारी दिनुभयो ।
संस्थाले गठन गरेका विभिन्न जिविकोपार्जन क्लबका अध्यक्ष, सचिव तथा सदस्यहरू, संस्थासँग सम्बन्धित समिती, उपसमितिका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापनका कर्मचारी लगायत गरि झण्डै १ हजार जनाको उपस्थिति रहेको संस्थाका कर्मचारी शंकर गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाको तर्फबाट वरिष्ठ उपाध्यक्ष उदय बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव प्रकाश कुमार आचार्यले गर्नुभएको थियो ।
साथै कार्यक्रमलाई उपलब्धिमूलक बनाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने व्यक्ति एंव संघसंस्था, कार्यक्रममा सहभागी सम्पूर्ण शेयर सदस्यहरू लगायत सबैमा संस्थाका अध्यक्ष दामोदर अधिकारीले हार्दिक कृतज्ञता प्रकट गर्नुभएको छ ।
प्रथम सिको महिला जिविकोपार्जन क्लव सम्मेलन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओम देवि मल्ल, अतिथिहरु राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी, सामाजिक अभियानता बबिता बस्नेत, जिल्ला बचत तथा ऋण सहकारी संघ बर्दिया अध्यक्ष नवराज न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो ।