
राजापुर, बर्दिया : राजापुर नगरपालिका वडा नम्बर १०मा रहेको खैरीचन्दनपुर स्वास्थ्य चौकीमा गर्भवती महिलाको गर्भमा रहेको बच्चाको अवस्था चेकजाँच गर्नका लागि भिडियो एक्सरे मेसिन प्रदान गरिएको छ ।
स्वास्थ्य संस्थामा चेकजाँचका लागि जाने गर्भवती महिलाहरुकाे गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन खैरीचन्दनपुर स्वास्थ्य चाैकीमा भिडियो एक्सरे मेसिन प्रदान गरिएको राजापुर नगरपालिकाले जनाएको छ ।
राजापुर नगरपालिकाको खैरीचन्दनपुर क्षेत्र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रबाट सबैभन्दा टाढा रहेको र त्यस ठाउँका गर्भवती महिलाहरुलाई विगतका दिनमा ११ किलोमिटर टाढा रहेको राजापुर नगर अस्पताल वा २५ किलोमिटर टाढा रहेको जिल्ला अस्पताल गुलरियामा चेकजाँच गराउन जानु पर्ने बाध्यात्मक अवस्था रहेको थियो ।
भिडियो एक्सरे मेसिन हस्तान्तरण कार्यक्रममा राजापुर नगरपालिकाका उप-प्रमुख मनकला चौधरीले विगतमा गर्भवती महिलाले भोग्नु परेको समस्या स्मरण गर्दै आगामी दिनमा घरदैलोमै ग्रामिण क्षेत्रका महिलाहरुलाई भिडियो एक्सरे सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयाे ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखा लुम्बिनी प्रदेशबाट प्राप्त भएको भिडियो एक्सरे मेसिन पोर्टेवल भएकाले आउँदा दिनमा अति आवश्यक र आपतकालीन अवस्थामा घरघरमै गएर पनि सेवा दिन सकिने राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनुभयो ।
यद्यपि भिडियो एक्सरे मेसिन चलाउनका लागि रेडियोग्राफी डाक्टरनै आवश्यक पर्ने भएतापनि हाललाई गर्भवती महिलाकोको बच्चाको अवस्था चेकजाँच गर्न नर्सिङ स्टाफलाई तालिम दिइएको छ । उहाँले गर्भवती महिला बाहेक अरुलाइ चेकजाँच गर्न नपाउने बताइएको छ ।
खैरीचन्दनपुर स्वास्थ्य चौकीबाट अनमी बिना पौडेललाई मेसिन सन्चालनको तालिम एवम् जिम्मेवारी दिइएको खैरीचन्दनपुर स्वास्थ्य चौकीका प्रमुख गंगा चौधरीले बताउनुभयो ।
राजापुर नगरपालिकाकी उप-प्रमुख मनकला चौधरीले राजापुर नगरपालिका वडा नम्बर १०का वडा अध्यक्ष शिव प्रसाद चौधरीलाई सामाग्री हस्तान्तरण गर्नुभएको हाे ।