onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

विश्व स्वास्थ दिवसको अवसरमा प्रधान सम्पादक योगी सम्मानित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ७५औं विश्व स्वास्थ दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा अनलाइन संवादका प्रधान सम्पादक भावुक योगी सम्मानित हुनुभएको छ ।

कोभिड-१९ महामारीको समयमा रोकथाम र नियन्त्रणका लागि सञ्चार माध्यमबाट समुदायस्तरमा निरन्तर सन्देशमूलक समाचार सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियो टाइगरका प्रबन्ध निर्देशक, उज्यालो रेडियो नेटवर्कका बर्दिया प्रतिनिधि एवम् नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष समेत रहनुभएका अनलाइन संवादका प्रधान सम्पादक भावुक योगी आज नगरपालिकाद्वारा सम्मानित हुनुभएको हो । प्रधान सम्पादक योगी जिल्ला बाहिर रहेका कारण नगर प्रमुख तिलकराम लम्साल र नगर उप-प्रमुख बिना कुमारी भट्टराईले संयुक्तरूपमा योगीका प्रतिनिधि एवम् रेडियो टाइगरका स्टेशन प्रमुख राम बहादुर थारुलाई सम्मान-पत्र प्रदान गर्नुभएको हो ।

दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा पत्रकार योगीसंगै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी, नगर स्वास्थ्य प्रमुख इन्द्र बहादुर राजवंशी, नगर अस्पतालका डा. कुलदीप यादव, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाकाका सभापति यज्ञ नेपाल, स्वास्थ्यकर्मी दीपक थापा, राजेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद ज्ञवाली, बल बहादुर खत्रीसहित ७८ जनालाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

कोभिड-१९ को पहिलो र दोस्रो चरणको महामारीका बेला आ-आफ्नो क्षेत्रबाट स्थानीयलाई सतर्कता अपनाउन, सङ्क्रमितलाई क्वरेण्टीन, आइसोलेशन र अस्पतालसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोे भन्दै पत्रकार, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो ।

विक्रम संवत् २०७२ सालको भूकम्पपछि बर्दियामा सुरु गरिएको रक्तदान अभियान र कोभिड-१९ महामारीको समयमा सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गरेको भन्दै एक महिनाअघि पनि स्वयम्सेवी रक्तदाता समाज बर्दियाको दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा प्रधान सम्पादक योगी सम्मानित हुनुभएको थियो ।

झन्डै दुई दशकदेखि वन, वन्यजन्तु तथा वातावरण संरक्षण र समाजिक क्षेत्रमा कलम चलाउनुभएका योगीले सात वर्षअघि बाघ संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित बर्दियाको भुरीगाउँमा रेडियो टाइगर पनि सञ्चालनमा ल्याउनुभएको छ । विभिन्न अभियानमा समाचार सम्प्रेषण गरेबापत बेला–बेला उहाँलाई विभिन्न सङ्घ-संस्था तथा कार्यालयले सम्मान गर्दै आएका छन् ।

यसैबीच दिवसको अवसरमा विभिन्न सन्देशमूलक प्ले कार्डसहित र्‍याली निकालेर भुरीगाउँ बजार परिक्रमा गरिएको स्वास्थ्यकर्मी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.