मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिकाको पशुपति बजारमा पशु बाँझोपन निवारण शिविर सञ्चालन गरिएको छ । बढैयाताल गाउँपालिकाको पशु सेवा शाखा मैनापोखरले कृतिम गर्भाधान मिसन कार्यक्रम अन्तरगत मंगलबार पशु बाँझोपनको निःशुल्क शिविर सञ्चालन गरेको हो ।
ग्रामिण क्षेत्रका किसानले पाल्दै आएका पशुमा देखिएको बाँझोपनको निवारण गरी दुग्ध उत्पादनमा बृद्धि गर्दै किसानको आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बढैयाताल गाउँपालिका पशु सेवा शाखा प्रमुख अशोक उपाध्यायले बताउनु भयो । बढैयाताल गाउँपालिका वडा नम्बर ८ का किसानले पाल्दै आएका पशुहरुमा देखिएकोे बाँझोपनको पहिचान गरि शिविर सञ्चालन गरिएको जनाएको उपाध्यायले बताउनु भयो । फर्म सञ्चालन गरि पशुपालन गर्दै आएका र निर्वाहको लागि पशुपालन गर्दै आएका किसानका गाई भैंसी गरि ५५ वटा पशुमा कृतिम गर्भाधान गरिएको पशु शाखाले जनाएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्का डा. मिलन चौधरी र एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय बर्दियाका डा. सुमन खनालले शिविरमा आएका बाँझोपन भएका पशुहरुको स्वास्थ्य परिक्षण गरि प्रविधिको प्रयोग गर्दै कृतिम गर्भाधान गराएका थिए । पशुमा परम्परागतभन्दा कृतिम गर्भाधान प्रभावकारी भएको र ८० देखि ८५ प्रतिशत सफल भएको डा . सुमन खनालले बताउनु भयो ।
६ महिनादेखि दुध दिँदै आएका तर बालि नगएका र एक पटक पनि बालि नगएका उमेर पुगेका बाच्छि र पाडी, एक पटक ब्याएर समय पुग्दा पनि बालि नगएका र उल्टिने गाई भैँसीका लागि बिज्ञ डाक्टर, प्राविधिक र औषधि सहितको निःशुल्क कृतिम गर्भाधानको सेवा गाउँघरमै पाउँदा सहज भएको लाभान्वित किसानहरुले बताएका छन् ।