भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को आयोजनमा डुम्रेनी गाउँमा ३ दिने सीपमूलक होमस्टे व्यवस्थापन तथा पाकवान तालिम सम्पन्न भएको छ । चैत १२ गते आइतबारदेखि सुरु भएको तालिम मङगलबार सम्पन्न भएको हो ।
होमस्टे व्यवस्थापनमा सुधार गर्ने र संचालकहरूको क्षमता अभिबृद्दी गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र ठाकुरबाबा नगरपालिका १ डुम्रेनीका महिला, जनजाती तथा युवाहरुको लागि होमस्टे सञ्चालन तालिमको आयोजना गरिएको वडा सचिव केशव खनालले बताउनुभयो । संचालित तालिमले नगरपालिकामा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको बताउँदै होमस्टेको संचालन तथा प्रवर्द्धनका लागि आफुले सक्दो सहयोग गर्ने सचिव खनालले प्रतिवद्दता व्यक्त गर्नुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालले होमस्टेका माध्यमबाट महिलाहरू आत्मनिर्भर हुन सक्ने भएकाले होमस्टेको प्रवर्द्धनमा वडा कार्यालय र पालिकाले सहयोग गर्ने बताउनुभयो । डुम्रेनी गाउँ पर्यटकिय क्षेत्रसंगै बहुभाषिक र बहुसाँस्कृतिक गाउँ रहेको स्मरण गर्दै थारु समुदाय र अन्य समुदायको आ-आफ्नै भाषा, संस्कृति भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको सामुदायिक होमस्टे बन्नेमा आफू पुर्ण विश्वस्त रहेको समेत वडा अध्यक्ष खनालले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष निमराज खनालको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा होमस्टे संचालन गर्ने ८ जना तथा होमस्टे सञ्चालनका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्ने १२ जना गरि २० जनाको सहभागितामा तालिम सम्पन्न भएको वडा सचिव खनालले जानकारी दिनुभयो ।
मधुवन नगरपालिका स्थित डल्ला होमस्टेका अध्यक्ष पर्शुराम चौधरीले तालिममा प्रशिक्षण दिनुभएको थियो ।