ठाकुरबाबामा खानेपानी र सरसफाइका लागि स्वास्थ्य सेवा कार्यविधि पारित
पालिकामा ५ लाख र स्वास्थ्य संस्था तहमा २० हजारको कोष स्थापना

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाइ, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले पालिकामा ५ लाख र हरेक स्वास्थ्य संस्था तहमा २० हजारको कोष स्थापना गरिएको जानकारी दिनुभयो । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि पारित गर्ने ठाकुरबाबा पहिलो पालिका भएको समेत उहाँले बताउनु भयो ।
कार्यविधि पारित भएसंगै बिग्रेका औजार तत्काल मर्मतसभ्भार गरी पुनःसञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरिने भएको छ । मर्मत सम्भारमा परिचालित प्राविधिकलाई पारिश्रमिक दिइने बताउँदै आगामी दिनमा स्वास्थ्य सेवाका संरचना बनाउदा दिगोपनका लागि योजना बनाउने नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
गेरुवा ग्रामिण जागरण संघ र तेर दे जोम्स फाउन्डेसन स्वीजरल्याण्डको साझेदारीमा सञ्चालित परियोजनाको आइतबार शुभारम्भ भएको छ । पारित भएको यस नीतिबाट मुख्यरुपमा सेवाग्राही, सेवाग्राहीसँग आउने मानिस र स्वास्थ्यकर्मी लाभान्वित हुने अपेक्षा गरिएको छ ।