शोभा कोइराला/राजापुर, बर्दिया : कर्णाली डेभलपमेन्ट बैंकको राजापुर शाखाले वित्तीय साक्षरता अभियान संचालन गरेको छ । राजापुर नगरपालिका वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा वित्तीय साक्षरता अभियान संचालन गरिएको हो ।
अभियानमा पैसाको महत्व, पैसालाई सुरक्षित गर्ने तरिका, बैंकिङ कारोबारको महत्व, सुरक्षित अनलाइन खाता, बचत गर्नुका फाइदाहरु, भौचर तथा चेक कसरी भर्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको बैंकका राजापुर शाखा प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो । डिजिटल बैंकको आवश्यकता बारे प्रष्ट पार्दै शाखा प्रमुख चन्दले पैसा बोक्दा हराउने तथा चोरि हुने सम्भावना बढी हुने भएकाले मोबाइल बैंकिङको प्रयोगका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको चन्दले बताउनु भयो ।
वित्तीय साक्षरता अभियानमा सहभागी हुनु भएका विद्यार्थी सुदन चौधरीले आफुहरुले वित्तीय साक्षरता कार्यक्रम मार्फत् पैसा र बैंकको महत्व तथा सुरक्षा बारे विस्तृत जानकारी पाएको बताउँदै, आफुले पाएको ज्ञान र सीप अभिभावकहरुलाई पनि सिकाउने बताउनु भयो ।
बर्दियाको राजापुरमा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ्ग सेवा दिइरहेको कर्णाली डेभलपमेन्ट बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सुनौलो भविष्यलाई ध्यानमा राख्दै, कार्यक्रममा उपस्थित विद्यार्थी र शिक्षकलाई समसामयिक परिस्थितिमा बचतको महत्व एवम् निकट भविष्यमा आइपर्न सक्ने वित्तीय तथा पुँजीगत समस्याहरुसंग जुध्ने बलियो आधारको रुपमा बैंक एक भरपर्दो साथी हुन सक्ने कुरा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
बाँकेको नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विगत ३ दिनदेखि विभिन्न शाखा मार्फत् अभियान संचालन गर्दै आएको छ ।