onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

जंगलमा आश्रित समुदायलाई विषेश प्राथमिकता दिनुपर्छ : ठाकुरबाबा प्रमुख लम्साल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वन्यजन्तुको संरक्षण र वृद्धीसंगै अब बाघ लगायतका वन्यजन्तुको व्यवस्थापन नै मुख्य चुनौतीको विषय बनेको र निकुञ्ज किनारका विपन्न समुदायलाई विषेश प्राथमिकता दिनुपर्ने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनुभएको छ ।

बाघ र मानव सह-अस्तित्वका लागि बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा आयोजित राष्ट्रिय बाघ कार्यशाला गोष्ठीमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख लम्सालले बाघ लगायतका वन्यजन्तु व्यवस्थापन गर्नुपर्ने र वन जंगलमै आश्रित विपन्न समुदायलाई विषेश प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

मानव र बाघ तथा मानव र वन्यजन्तुबीचको द्वन्द न्युनीकरण गर्दै सह-अस्तित्व कायम राख्न वन्यजन्तु ओहोरदोहोर हुने सडक किनारमा झाडी सरसफाई र वन तथा निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा ओभरपास निर्माण गर्न सकेमा मात्रै मानव वन्यजन्तुबीचको द्वन्द न्युनीकरण हुने उहाँले बताउनुभयो ।

“हामीले बाघको संख्या बढाउने योजना त बनायौं, तर बाघको संख्या वृद्धी भएसंगै व्यवस्थापन गर्न सकेनौँ की ?” नगर प्रमुख लम्सालले प्रश्न गर्नुभयो । मानव बाघ सह-अस्तित्वका लागि सबैभन्दा पहिला मानव, त्यसपछि भुगोल अनि मात्र बाघ लगायतका वन्यजन्तु जोगाउनु पर्ने धारणासमेत उहाँले राख्नुभयो ।

यस क्षेत्रका विपन्न समुदायका परिवारहरु जंगलमा आश्रित भएका कारण जंगल गएका हुन्, उनिहरुलाई जंगल नै जानु नपर्ने सुबिधाका लागि विषेश योजना बनाउन देशभरबाट सहभागि संरक्षणकर्मीलाई आग्रह गर्दै “हाम्रा घरका झ्याल ढोका काठका छैनन् सबै अल्मुनियम युपिभिसीका छन् त्यसलाई सहज ढंगबाट स्थानीबासीन्दाले कहिले प्रयोग गर्न पाउने ?” नगर प्रमुख लम्सालले प्रश्न गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले कार्यशाला गोष्ठीमा सहभागिहरुलाई आफ्नो नगरपालिका भित्रको भौगोलीक अवस्थासंगै निकुञ्जका वन्यजन्तुबाट हुने जनधनको क्षतीसहितको पहिलो प्रस्तुतिकरण राख्दै राष्ट्रिय निकुञ्ज र स्थानीय तहबीच विवादित कानुनका कारण पनि बेलाबेला द्वन्द हुन्छ, नगरभित्र विकास निर्माणका काममा पनि कठिनाई हुन्छ, व्यवहारिक छुट्टै पाटो होला, तर कानुतः विवादित छ, त्यसैले ऐन संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद रिसालले बाघ लगायतका वन्यजन्तुको आक्रमणबाट बर्दियामा मानवीय तथा अन्नबालीमा क्षती हुँदा असुरक्षित भएको महशुष गरिरहेका बेला मानवको पनि संरक्षण हुने, वन, वन्यजन्तुको पनि संरक्षण हुने द्धन्द्ध न्युनिकरण हुने, मानव र बाघबीचको सहअस्तीत्व पनि कायम हुने, द्धन्द्ध न्युनिकरणमा टेवा पुग्ने खालका योजनाहरु बनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. महेश्वर ढकालले जैविक विविधतामा बर्दिया निकुञ्ज अघि रहेको बताउँदै नेपालमा बाघ दोब्बर बनाउने अभियानमा हामी सबै सफल त भयौँ, तर बाघ संरक्षणमा के गर्यौँ, सबल र दुर्वल पक्षमा केन्द्रित भएर अब हामीले काम गर्नुपर्ने बताउनुभयो ।

“एउटा दुःख लाग्दो कुरा गएको साउन १३ गते बाघको संख्या घोषणा गर्दै गर्दा यस्तो म्यासेज गयो की अब द्वन्द बढ्ने भयो भन्ने म्यासेज गयो, तर बाघलाई अवसरका रुपमा पर्यटक भित्र्याउने योजना कसरी बढाउने, स्थानीयबासीन्दालाई के लाभ दिन सकिन्छ भन्नेमा लागेनौँ बाघ बढ्यो सबै जनता दुखी छन् भन्ने म्यासेज गयो, वास्तवमा त्यस्तो होईन” विभागका महानिर्देशक ढकाललले भन्नुभयो ।

आजदेखि बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा सुरु भएको तीन दिने बाघ र मानव सह-अस्तित्वका लागि राष्ट्रिय बाघ कार्यशाला गोष्ठीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. महेश्वर ढकाल, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, पुर्व महानिर्देशकहरु कृष्णप्रसाद आचार्य, फरिन्द्रराज खरेल, डा. रामचन्द्र कंडेल यसैगरी संरक्षणविज्ञ डा. शान्ताराज ज्ञवाली, राष्ट्रिय प्रकृती संरक्षण कोषका सिनियर संरक्षण प्रमुख डा. बाबुराम लामिछाने, त्रिभुवन युनिर्भसीटीका प्रोफेसर डा. तेज बहादुर थापा, बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी लगायतको सहभागिता रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा बर्दिया निकुञ्ज क्षेत्र रहेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले कार्यशालामा सहभागिहरुलाई आफ्नो नगरपालिका भित्रको भौगोलीक अवस्थासंगै निकुञ्जका वन्यजन्तुबाट हुने जनधनको क्षतीसहितको पहिलो प्रस्तुतिकरण, प्रमुख जिल्ला अधिकारी अधिकारी नारयण प्रसाद रिसाल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. महेश्वर ढकालले आफ्नो भनाइ राखेपछि उद्घाटन सकिए लगत्तै सहभागि संरक्षणकर्मीहरुको सहभागितामा तीन दिने कार्यशाला गोष्ठी जारी रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.