
भुरीगाउँ, बर्दिया : पूर्ण हातधुने अभियान अन्तरगत सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हातधुने स्थान” भन्ने नारा सहित २०७९ साल भदौ ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हातधुने अभियानलाई सफल बनाउन ठाकुरद्वारामा सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
चैत १० गते शुक्रबार र ११ गते शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २, ३, ५ र ९ का महिला स्वास्थ्य स्वयम्सेविका, बडघर, विद्यार्थी, शिक्षक तथा सामाजिक अभियन्ताहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई पूर्ण हातधुने अभियानको विषयमा जानकारी गराउनुका साथै सामुदायिक अभियान्ताहरुलाई प्रशिक्षण समेत दिइएको छ ।
सामुदायिक अभियान्ताहरुले समुदायमा जनचेतना फैलाउन सक्ने मुख्य भुमिका रहने भएकाले सामाजिक अभियान्ताहरुलाई सिकाउन अति आवश्यक रहेको निष्कर्षका साथ कार्यक्रमको आयोवना गरिएको जनाइएको छ । कार्यक्रममा हात धुने स्थान बनाउदा आइपर्ने चुनौतीहरु, नीति तथा कार्यविधिको अभाव, सर्वसाधारणमा हात धुँदा हुने फाइदाका बारेमा अनभिज्ञता, बालबालिका अपाङ्ग र लैङ्गीकमैत्री हातधुने स्थान र साबुन पानीको अभाव, नकारात्मक सोच, स्रोतको अभाव र व्यवस्थापकिय अभाव जस्ता पूर्ण हातधुने अभियान रणनीतीको विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । सम्पन्न कार्यक्रममा ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान सुरु भएदेखि हालसम्म ढक्कन र टुटी सहितको हात धुने स्थानको निमार्णको अवस्था तथा यसका अवसर र चुनौतीका विषयमा समेत छलफल गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ४ लाई पूर्ण हात धुने वडा घोषणा गरि सकिएको छ भने सरसफाई तथा स्वच्छता समन्वय समितिद्वारा अनुगमन गरेर वडा नम्बर ८ लाई पनि पूर्ण हात धुने वडा घोषणा गर्ने तयारी गरिएको गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले बताउनुभयो । वडाबासीका घर, संघ–संस्था, र कार्यालयहरुमा हात धुने स्थान बनाएर विशेष अवस्थामा सबैले नियमित रुपमा साबुन पानीले हात धुने अभ्यास प्रवद्र्दन गरी नगरपालिकाको वडा नम्बर ४ पूर्ण हातधुने वडा घोषित भएको हो ।
फोहोर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटि र ढक्कन सहितको हात धुने स्थान बनाउन उपयुक्त हुने निष्कर्ष निस्कीए संगै नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई र स्वच्छता समन्वय समितिसंग छलफल गरेर पालिका भरिनै हात धुने कार्यलाई ठाकुरबाबा नगरपालिकामा अभियानको रुपमा सञ्चालन गरिएको गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदीले बताउनु भयो । अनुगमनबाट हालसम्मको तथ्याङ्क अनुसार ७८ प्रतिशत भन्दा बढी घरधुरीमा हात धुने स्थान निर्माण गरिएको उहाँले बताउनु भयो ।
पुर्ण हात धुने अभियान अन्तरगत विक्रम सम्वत् २०८० साल सम्म नगरपालिका भित्रका सबै घर, सार्वजनिक तथा निजी सेवा प्रदायक सस्थाहरुमा साबुनपानी सहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य ठाकुरबाबा नगरपालिकाले लिएको छ ।
सम्पन्न सामुदायिक अभियानकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमका सहभागीहरुले बैशाखको पहिलो हप्तासम्ममा आफ्नो वडालाई पूर्ण हात धुने वडा बनाउन साझा प्रतिबद्धता ब्यक्त गरेका छन् ।