
राजापुर, बर्दिया : प्राक्टिकल एक्सन र सामाजिक विकास तथा अनुसन्धान केन्द्रले राजापुर नगरपालिकामा ‘बाढी प्रकोप जोखिम न्यूनिकरण तथा उत्थानशिलताको लागि प्रकृतिमा आधारित समाधानका उपायहरु’ सम्बन्धि अन्तरपालिका स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
बाढी प्रकोप जोखिम न्यूनिकरण तथा उत्थानशिलताका लागि प्रकृतिमा आधारित समाधानका उपायहरु अध्ययनको प्रस्तुतीकरण, पहिचान गरिएका प्रकृतिमा आधारित समाधानका उपायहरुका प्राथमिकिकरण र बाढी प्रकोप जोखिम न्यूनिकरण तथा उत्थानशिलताका लागि अन्तरपालिका स्तरीय साझा छलफलको सुरुवात गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बमले जानकारी दिनुभयो ।
बाढी उत्थानशिलताको लागि प्रकृतिमा आधारित समाधानहरु बढी प्रभावकारी हुने र प्रकृतिमा आधारित समाधानहरुको लागत समेत कम हुने कार्यक्रममा बताइएको छ । प्रकृतिमा आधारित समाधानहरुको लागि आवस्यक सामानहरु स्थानीयरुपमा सजिलोसंग पाइने भएकाले यसको निर्माणमा स्थानीय जनशक्तिको उपयोग भइ रोजगारीको अवसर समेत सिर्जना हुने गरेको छ । साथै प्रभावित समुदायहरुलाई आर्थिक, जैविक विविधता तथा जिविकोपार्जन सम्बन्धि सहलाभहरु पनि प्रदान गर्ने गरिएको बताउँदै बाढी प्रकोप जोखिम न्युनिकरणरणका लागि प्रकृतिमा आधारित समाधानका उपायहरुका बारेमा बिस्तृत अध्ययन समेत गरिएको प्राक्टिकल एक्सनका परियोजना व्यवस्थापन बिक्रम रानाले बताउनु भयो ।
बाढी प्रकोप जोखिम न्युनिकरणरणका लागि प्रकृतिमा आधारित समाधानका उपायहरुका बारेमा गरिएको बिस्तृत अध्ययनबाट कर्णाली नदीको तल्लो तटियक्षेत्रमा बाढीको संकटासन्नता तथा जोखिम नक्सांकन गरि प्रकृतिमा आधारित समाधानका उपायहरु पहिचान गरिएको छ । प्रकृतिमा आधारित समाधानहरुले जैविक विविधता संरक्षणको उचित कदर गर्नेदेखि पानीको बहाव घटाई बाढीको जोखिम कम गर्ने तथा आम्दानीमा वृद्धिसंगै मानव स्वास्थ्य र वातावरणमा लाभदायक प्रभाव पर्ने देखिएको छ ।
अध्ययनबाट पहिचान गरिएका सुझावहरुलाई पालिकागत सामुहिक छलफलको माध्यमबाट आवश्यकता, प्रभावकारिता र सम्भाव्यता गरि ३ वटा मापदण्डको आधारमा प्राथमिकिकरण गरिएको प्राक्टिकल एक्सनका अधिकृत कृति श्रेष्ठले बताउनुभयो । पालिकाहरुको हकमा सबै समुदाय बाढी प्रभावित रहेको र प्राथमिकिकरण गर्दा सम्भाव्यताको मापदण्ड तथा विद्यमान स्रोत र साधनले पनि प्रभाव पार्ने श्रेष्ठले बताउनु भयो । कार्यक्रममा गरिएको सामुहिक छलफलमा सहभागीहरूले पालिकास्तरमा रहेका विपद् जोखिम न्युनिकरण तथा उत्थानशिलता सम्बन्धी विद्यामान नीति, योजना तथा अभ्यासहरुको बारेमा विश्लेषण गरेका छन् । सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सम्बोधन गर्दै पालिकामा के कस्ता नीतिगत व्यवस्था रहेका छन्, थप के कस्ता नीतिगत व्यवस्था चाहिन्छन् भन्ने विषयमा जानकारी गराउँदै पालिकास्तरमा विपद जोखिम उत्थानशिलताका लागि भएका अनुकरणयोग्य सहकार्यका उदाहरण सहित आवश्यक सहकार्यका लागि थप प्राथमिकताहरु समेत औल्याइएको छ ।
कार्यक्रममा सहभागी मधुवन नगरपालिकाकी नगर उप-प्रमुख अनिता चौधरीले कार्यशालाबाट प्रकृतिमा आधारित समाधानका उपायहरुका बारेमा जान्ने अवसर मिलेको बताउँदै आफुहरुले विगत देखि गर्दै आएको प्रयासहरुको पुर्नताजगी गर्ने अवसर मिलेको र थप के गर्न सकिन्छ भन्ने सिकाई भएको बताउनु भयो । साथै मधुवन नगरपालिकाकी उप-प्रमुख चौधरीले प्राथमिकिकरण भएका उपाहरुलाई सरकारको योजना तर्जुमा प्रक्रियामा समावेश गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो ।
यस्तै कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले प्रभावकारी विपद् जोखिम व्यवस्थापनका लागि सबै प्रभावकारी समन्वय, सहकार्य र सहअस्तित्वको माध्यमबाट अगाडि बढ्नपर्ने बताउनु भयो । चौधरीले उपल्लो तथा तल्लो तटियक्षेत्र बिचको समन्वय पनि बाढी व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने बताउनु भयो ।
प्रकृतिमा आधारित समाधानहरुको प्राथमिकिकरण गरिएको सुची तथा कार्यक्रममा सहभागी पाँच पालिकाहरु बिच प्रभावकारी साझा सिकाइ र समन्वयको भावी कार्यदिशा तय गर्दै कार्यशाला सम्पन्न भएको छ । बर्दियाका राजापुर नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका तथा कैलालीको जानकी गाँउपालिका र टिकापुर नगरपालिकाको समन्वय रहेको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, बाढीको जोखिम रहेका समुदायका बासिन्दा र पत्रकारहरुको सहभागिता रहेको थियो ।