
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले आजदेखि नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । नगरपालिकाका सबै सामुदायिक तथा निजि विद्यालयहरूमा शुक्रबाररदेखि कक्षा ५ र ८को नगरस्तरीय परीक्षा सुरु भएको हो ।
नगर परिक्षा बोर्ड अन्तरगत रहेर कक्षा ५ र ८ को प्रश्नपत्र तयार गरी सबै खर्च नगरपालिकाले ब्यहोर्ने गरी नगरस्तरीय परिक्षा संचालन गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । ठाकुरबाबा नगरपालिका भित्र कक्षा ५ सञ्चालन भएका ३३ वटा विद्यालयका परीक्षार्थीको १२ वटा केन्द्र र कक्षा ८ संचालन भएका २४ वटा विद्यालयका परीक्षार्थीको परीक्षा ७ वटा केन्द्रमा संचालन भई रहेको नगरपालिकाका शिक्षा सुपरिवेक्षक नन्दराम अधिकारीले जानकारी दिनुभयो ।
कक्षा १ देखि ९ सम्मका सबै प्रश्नपत्र पनि नगरपालिकाले नै निर्माण गरेको छ । शिक्षाको गुणस्तरीयता मापन गर्नको लागि नगरपालिकाले नगर भित्रका विषय शिक्षकलाई प्रश्न निर्माण समिति भित्र राखेर प्रश्नपत्र निर्माण गरेको जनाएको छ ।
आजदेखि सुरु भएको नगरस्तरीय परीक्षामा कक्षा ५ तर्फ १ हजार ७२ जनामा १ हजार ३३ जना र कक्षा ८ तर्फ १ हजार ३८ जनामा ९८१ जना परीक्षार्थी सहभागी भएको शिक्षा सुपरिवेक्षक अधिकारीले जानकारी दिनुभयो । चैत ३ गतेदेखि सुरु भएको नगरस्तरीय परीक्षा चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।