
भुरीगाउँ, बर्दिया : बालबालिकाको सपना परियोजना अन्तरगत समुदायका अभिभावक र नमूना बुवाहरुबिच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । थारु महिला उत्थान केन्द्र गुलरियाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा ठाकुरबाबा नगरपालिका–७, मोहनपुरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
बालबालिकाको सपना परियोजना अन्तरगत रहेर बालबालिकाको वृद्दी विकासमा बुवाहरुको भुमिका कस्तो रहन्छ भन्ने विषयमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का अभिभावक, नमूना बुवाहरु तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी एवम् शिवपुर स्वास्थ्य चौकीका प्रमुख सुरेश चौधरीका बीचमा छलफल भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजबंशीले गर्भावस्था देखि नै आमा र बच्चाको ख्याल गर्नुपर्ने, बच्चा गर्भमा रहेको ६ महिना देखि नै बच्चाले बाहिरी क्रियाकलाप थाहा पाउने भएकाले यहि अवधि देखी ५ वर्षसम्म विशेष ख्याल गर्नुपर्ने, गर्भास्थामा गर्भवतीसंग कुनै पनि नराम्रा व्यवहार नगर्ने, बच्चा जन्मिएको २ वर्ष भित्रमा बालकको ८० प्रतिशत मानसिक विकास भइसक्ने भएकाले बालबालिकाहरुलाई २ वर्षको उमेरसम्म उसलाई सिकाउनु पर्ने कुराहरु लगायतका विषयमा छलफल गरिएको छ । यस्तै गर्ववस्थामा दिनहुँ खाइरहने खानामा अन्न जन्य, दलहनजन्य, हरियो सागसब्जी र पशुजन्य खाना खानुपर्ने, नैतिकता, आचरणहरु र बच्चाको ५ वर्षको उमेरसम्म बालबालिकाहरुलाई नैतिक आचरण, बोलीव्यवहार उचित किसीमको सिकाई सक्नुपर्ने लगायतका कुराहरु छलफलमा जानकारी गराइएको छ ।
बालबालिकाहरुलाई उचित किसीमको वातावरण सिर्जना गर्नका लागि आमा र बुवा दुबै जनाको भुमिका उत्तिकै हुने भएकाले बुवाहरुसंग पनि छलफल गरिएको शिवपुर स्वास्थ्य चौकीका प्रमुख सुरेश चौधरीले जानकारी दिनुभयो । आफ्ना सन्तानहरुलाई एउटा उत्कृष्ठ व्यक्ति बनाउनका लागि अभिभावक नै लगनशिल र मेहनती भएमा बालबालिकाको घर परिवारबाट सिकाई हुने चौधरीले बताउनुभयो । बालबालिकाहरु गलत बाटोमा नलागुन भन्नका लागि बालबालिकाहरुको राय सल्लाह लिने र उनीहरुलाई जिम्मेवारी दिने गरेमा र आफ्ना बालबालिकाहरुलाई अरुसंग तुलना नगर्ने गरेमा बालबालिकाहरुमा नकरात्मक विचार नआउने समेत छलफलमा बताइएको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर बिष्टले बालबालिकाको विषयमा कार्यक्रम संचालन गर्ने संस्थालाई धन्यबाद दिदै यस्ता कार्यक्रम संचालन गर्न अति आवश्यक रहेको बताउनुभयो । कार्यक्रमक ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर बिष्टको सभापतित्व, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीको प्रमुख आतिथ्यता तथा थारु महिला उत्थान केन्द्रका कर्मचारीहरु, नमूना बुवाहरु लगायतको सहभागितामा सम्पन्न भएको परियोजनाका संयोजक विनय चौधरीले जानकारी दिनुभयो ।