राजापुर, बर्दिया : गत ११ महिनादेखी प्रहरी चौकीमा राखिएको एम्बुलेन्स पुनः प्रयोगमा आउने भएको छ । ११ महिना अघि २०७९ साल बैशाख १ गते बिरामी छोड्न टिकापुर गएको एम्बुलेन्स बिरामी छोडेर फर्किने क्रममा टिकापुर नगरपालिकाको मौरनियामा मोटरसाइकलसंग ठोक्किँदा एक जनाको ज्यान गएपछि एम्बुलेन्स प्रहरी चौकीमा राखिएको थियो ।
दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको खुट्टा भाँचिएको थियो । नेपाल रेडक्रस सोसाइटी उप–शाखा राजापुरद्वारा सञ्चालित एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्युु भएसंगै मृतकका आफन्तपक्षले आन्दोलन गरि उचित राहत रकम र घाइतेको स्वास्थ्य उपचारको माग गरेका थिए । पीडित परिवारसंगको सहमती अनुसार मृतकका परिवारलाई ८ लाख ७५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने तथा खुट्टा भाँचिएर घाइते भएकाको औषधी उपचारमा लाग्ने खर्चका साथै मोटरसासइकलको मर्मतमा लाग्ने खर्च रेडक्रस उप–शाखा राजापुरले व्यहोर्ने गरी पीडित पक्षले सहमती गरेका थिए ।
मृतकपक्षसंग सहमती गरिएपनि रकम अभावका कारण सम्झौता कार्यान्वयन हुन नसक्दा विगत ११ महिनादेखि नेपाल रेडक्रस सोसाइटी उप–शाखा राजापुरद्वारा सञ्चालित भे. १ च २४०९ नम्बरको एम्बुलेन्स प्रहरी चौकीमा नै रहेको थियो । लुम्बिनी प्रदेससभा सदस्य धर्म चौधरीको पहलमा मृतक कैलालीकाे जानकी गाउँपालिकाका स्थानीय रहेकाले जानकी गाउँपालिकाका अध्यक्ष गणेश चाैधरी, मृतकका परिवार तथा रेडक्रस प्रतिनिधिको उपस्थितीमा तीन महिना भित्र सहमती अनुसारको रकम उपलब्ध गराउने सहमतीमा एम्बुलेन्स प्रहरी चौकीबाट निकालिएको रेडक्रस उप–शाखा राजापुरका सभापति खुमराज पौडेलले जानकारी दिनुभयो ।
पीडित पक्षलाई दिनुपर्ने आधा रकम वीमाबाट आएको भएपनि आधा रकमको व्यवस्थापन हुन सकेको छैन । पीडित पक्षलाई सम्झौता अनुसारको रकम तीन महिना भित्र उपलब्ध गराइने र पीडितपक्ष समक्ष उक्त रकम उपलब्ध गराउन आफु जिम्मेवारी बसेको लुम्बिनी प्रदेससभा सदस्य धर्म चौधरीले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी उप–शाखा राजापुरका निवर्तमान सभापति माया भट्टराईले आफुहरुले पनि रकम सकंलन गर्न लागेकाले सहयोगी भावना भएका मनकारीहरुलाइ सहयोग गर्न अपिलसमेत गर्नुभयो ।