onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लोपोन्मुख पाटे बाघ संरक्षणमा सामुदायिक छाडा कुकुर चुनौति बन्दै

Sambad ADD long

सन् २०१० मा रुसको सेन्ट पिटसवर्गमा आयोजित बाघको बासस्थान भएका मुलुकका प्रमुखहरूको पहिलो सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिवद्दता व्यक्त गर्‍यो । सोही प्रतिवद्दतालाई नेपालले पूरा गर्‍यो । प्रतिवद्दता पूरा गर्न विशेष भुमिका बर्दिया राष्ट्रिय निकुञ्जको छ । निकुञ्जमा बाघको संख्या बढ्नुमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको पनि उत्तिकै भुमिका छ ।

बाघको संख्या दोब्बर हुँदा संरक्षणमा लागि पर्ने संसारभरका संरक्षणक्रमी खुसी छन् । दैनिक आन्तरिक र बाह्य पर्यटक बाघ हेर्नकै लागि जङ्गल सफारी जान्छन् । कतिपय पर्यटन व्यवसायीले बाघ देखाएरै ठूलो धनराशि आर्जन गरिरहेका छन् । पाटे बाघको बारेमा व्याख्या गरेर पाटे बाघ नामको पुस्तक लेखक हेमसागर बरालले लेखेका छन् । नेपालमा विक्रम संवत् २००७ सालको राणा शासन अन्त्यसंगै पाटे बाघको संख्या घट्न थालेको हो । उनी यसका लागि राजनीतिक अस्थिरता र २०११ सालमा तराईमा औलो उन्मूलन भएको समाचार फैलिएसंगै तराईमा बढेको बसाईंसराईलाई प्रमुख कारण मानेका छन् । बाघको संख्या नबढ्नुमा माओवादी द्वन्दकालमा चोरी सिकार नियन्त्रण गर्न नसक्नु पनि हो । हाल विभिन्न चरण पार गर्दै पाटे बाघको संख्या त बढ्यो अब यसलाई बचाईराख्ने चुनौती पनि उत्तिकै छ ।

नेपालमा बाघको संख्या कसरी बढ्यो ? यसबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन् । खासगरी संरक्षणमा सरकारको नेतृत्वमा गैरसरकारी संस्थाको सक्रिय सहयोग र स्थानीय समुदायको चेतनाले यसमा अहम् भूमिका खेलेको छ । दुर्भाग्य नै ठान्नुपर्छ स्थानीय समुदायले खेलेको भुमिकालाई अहिले बाघको प्रचारबाजी गर्नेहरु संरक्षणका बाधक ठान्छन् ।

लोपोन्मुख पाटे बाघ र समुदायका छाडा कुकुरको के सम्बन्ध छ ? यसले बाघ संरक्षणमा कस्तो असर गर्छ ?

अहिले विशेष गरि बाघको संख्या बढी भएका राष्ट्रिय निकुञ्ज मध्यमा बर्दिया दोस्रोमा पर्छ । यहाँ भर्खरै गणना गरिएको बाघको संख्या १२५ रहेको छ । हरेक दिनजसो बाघ रातको समयमा समुदायमा आउने र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायले पालेका पाल्तु जनावर मार्ने तथा खाएर क्षती पुगाउने गरेको छ । समुदायमा रहेका सामुदायिक छाडा कुकुरलाई समेत बाघले मारेर खाने गरेको घटना धेरै छन । घरपालुवा तथा समुदायका कुकुरमा लुतो, दाद लगायत छालाजन्य रोगहरु प्रकोपको रुपमा देखिएको छ । हरेक वर्षका कात्तिक देखि फागुन, चैतसम्म कुकुरमा बिषाणुले लाग्ने पार्भो ईन्टेराईटिस, डिस्टेमपर लगायतका रोगहरु फैलिरहेका छन् । प्राणघातक रोग रेबिजको जोखिम उत्तिकै छ । यदि सामुदायिक कुकुरमा लागेको पार्भो तथा डिस्टेम्पर कुनै कारण पाटे बाघमा सर्‍यो भने ठुलो मेहेनत गरेर बढेको बाघको संख्या फेरी पुरानै अवस्थामा नपुग्ला भन्न सकिन्‍न ।

निकुञ्‍ज प्रशासनले सामुदायिक कुकुर नियन्त्रण तथा व्यवस्थापनमा के गर्न सक्छ ?

  • निकुञ्‍ज प्रशासनले निकुञ्‍ज छेउछाउका समुदायमा रहेका छाडा सामुदायिक पोथि कुकुरलाई बन्ध्याकरण शिविर संचालन गरेर बन्ध्याकरण गरेर कुकुरको संख्या नियन्त्रण गर्न सक्छ ।
  • हरेक वर्ष निकुञ्‍ज आसपासका प्राइभेट पाराभेटेरीनरी प्राविधिक परिचालन गरेर रेबिज, कोरोना तथा डिस्टेमपर रोग विरुद्द खोप अभियान संचालन गर्न सक्छ ।

एकपटक सबैले सोच्ने समय भएको छ । समुदायमा रहेका कुकुरलाई ढुङ्गा हानेर तर्साउन भन्दा दिर्घकालिन समाधानका लागि निकुञ्‍ज प्रशासन, संरक्षणकर्मी र स्थानीय सरकारले हातेमालो गरेर समुदायका कुकुर व्यवस्थापन गर्न लाग्नु पर्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.