onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाको स्थापना दिवसमा ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ हुने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा सहभागि गराई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकाले छैठौँ नगरपालिका स्थापना दिवसका अवसरमा ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ कार्यक्रम आयोजना गर्न लागेको छ ।

विक्रम संवत् २०७३ साल फागुन २७ गते ठाकुरबाबा नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ र वृहत रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाउन लागेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उदेश्यसहित समुन्नत ठाकुरबाबा, सबल नगरबासी नारासहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैँकिङ, पर्यटन, होटल व्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्याउन भन्दै वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिएको हो ।

श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै श्रमिकहरुको सीप र क्षमता अभिवृद्धी गर्दै युवाहरुका कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनिहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवा शक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यले आयोजना गरिएको ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ मा झण्डै १ हजार ५ सय जनालाई सहभागिता गराउने नगरपालिकाले लक्ष्य लिएको छ ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी गराईने नगरपालिकाका नगर उप प्रमुख विना कुमारी भट्टराईले बताउनुभयो ।

यस्तै रोजगार सम्बन्धी जानकारी, रोजगारदातासंग प्रत्यक्ष सम्पर्क र रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरुको प्रदर्शनी, वृहत रक्तदान कार्यक्रम, हाजिरीजवाफ, सरसफाई कार्यक्रम र संस्थापक जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिने उप प्रमुख भट्टराईले बताउनुभयो ।

रोजगार मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्न सक्ने, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्ति बारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेका उद्योग तथा व्यवसायसंग उपलब्ध विभिन्न रोजगारीका अवसरहरु बारे जानकारी पाउने तथा तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम र अवसरका बारेमा जानकारी पाउने अपेक्षा गरिएको छ ।

प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गकोसमेत सहभागिता रहने मेलामा उद्योग, व्यवसाय लगायत अन्य विभिन्न क्षेत्रका रोजगारदाताहरुको पनि प्रतिनिधित्व हुने यो कार्यक्रम हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बर्दियाको ठाकुरबाबा नगरपालिकासहित लुम्बीनी प्रदेशका ११ वटा जिल्लाका पालिकामा सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताउनुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाले संचालनमा ल्याएकाे नेउलापुर स्वास्थ चा‌ैकी भुरिगाउँकाे नगर अस्पतालबाट अब २४ सै घण्टा इमर्जेन्सी सेवा पनि नगरपालिकाकाे स्थापना दिवसका अवसरमा सुरु गरिने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाकाे उपस्थितिमा नगरपालिकाले २४ सै घण्टे सेवा पनि शुभारम्भ गर्ने नगरपालिकाका उप प्रमुख विना कुमारी भट्टराईले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.