राजापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउँदै
निर्माण हुने पुस्तकको नाम "हाम्रो भौरा राजापुर" राख्ने निर्णय

राजापुर, बर्दिया : राजापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको छ । आगामी शैक्षिक शत्रबाट लागु हुने गरी राजापुर नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको हो । देश संघियतामा गएपछि पालिकाहरुले आफ्नो भुगोल, परिवेश, संस्कृती र स्थानीय आवश्यकता लगायतका विषयहरुलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भएकाले नगरपालिकाले पाठ्यक्रमको निर्माण तयारी सुरुवात गरेको छ ।
यसैबिच स्थानीय पाठ्यक्रम निर्माणका लागि राजापुर नगरपालिकाले नगरपालिकाका सरोकारवाला पक्षहरुसंग छलफल गरेको छ । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेले राजापुर नगरपालिकासंग साझेदार संस्थाको रुपमा सहकार्य गरिरहेका छन् ।
छलफल कार्यक्रममा पाठ्यक्रममा के कस्ता कुराहरुलाई समेट्ने, कसरी समेट्ने लगायतका विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रमबाट निर्माण हुने पुस्तकको नाम “हाम्रो भौरा राजापुर” राख्ने निर्णय गरिएको जनाइएको छ । कक्षा १ देखी ८ सम्म पाठ्यक्रम निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित विषयमा विज्ञता भएका शिक्षक एवम् जनप्रतिनिधी सम्मिलित समितिहरु गठन पनि गरिएको छ ।
कार्यक्रममा विद्यालयमा शिक्षक, शिक्षिकाहरुले स्थानीय पाठ्यक्रमका विषयमा तालिम लिएकाले अब शिक्षक, शिक्षिकाहरुले स्थानीय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण भुमिका खेल्नु पर्ने राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले बताउनु भयो ।
पाठ्यक्रम निर्माण गर्दा व्यवहारिक पाटो पनि हेरिनु पर्ने उल्लेख गर्दै राजापुर नगरपालिकाकी उप–प्रमुख मनकला चौधरीले बुजुर्वा शिक्षाले अगाडि बढ्न नसकिने र अब पाठ्यक्रम बनाउँदा रोजगारीमुखी बनाउनु पर्ने बताउनुभयो । कार्यक्रमका सहभागिहरुले नगरपालिका भित्रका सामाजिक, भौगोलिक, सास्कृतिक पहिचान र सम्मान भावको विकास गर्न, यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, प्रवद्र्दन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने सक्षमताको विकास हुने विषयवस्तु समेटिनु पर्ने बताएका छन् ।
परिवर्तित राजनैतिक एवम् प्रशासनिक व्यवस्था अनुसार संघिय संरचना अनुरुप अभिभावक, स्थानीय विज्ञ, शिक्षक तथा अन्य सरोकारवालाहरुको सहभागितामा स्थानीय पाठ्यक्रमको विकास गर्ने सम्पुर्ण जिम्मेवारी स्थानीय सरकारलाइ हस्तान्तरण गरिएको छ । छलफल कार्यक्रमलाई बर्दिया जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले सहजीकरण गर्नुभएको कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको प्रमुख आथित्यता रहेको थियो ।