रहस्यमय महिला मृत्यु प्रकरण : पतिकाे जाहेरी आधारमा एक जना पक्राउ
हत्या आराेपितकाे बयानबाट पुष्टि पश्चात् थप अनुसन्धान हुँदै
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँको नेपाल टेलिकम कार्यालय गेट नजिक कञ्चनपुर-नेउलापुर गाउँ सडक किनारमा मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
घटना लगत्तै रहस्यमय घटना भएकाे भन्दै प्रहरीको विशेष अनुसन्धान टाेलीले अनुसन्धान गर्दै जाँदा हत्या आराेपमा एक जना पक्राउ परेका हुन् ।
रहस्यमय ढंगबाट मृत अवस्थामा ठाकुरबाबा नगरपालिका ५, गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सोनचिरिया थारुको शव फेला परेसंगै प्रहरीले कडा रुपमा अनुसन्धान सुरु गरेको थियो ।
गएको मंगलबार मध्यान्हतिर घरबाट पेट दुखेको औषधी लिन मेडिकल हिँडेकी महिला अबेर रातीसम्म पनि घर नफर्किएपछि रातीदेखि खोजी भइरहेको थियो ।
गएको बुधवार विहान ६ बजेतिर भुरीगाउँको कञ्चनपुर नेउलापुर गाउँ जाने सडक किनारमा ठाकुरबाबा नगरपालिका-५, गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सोनचिरिया थारुको शव देखेपछि स्थानीयबासीन्दाले प्रहरीमा खबर गरेका थिए । मृतक महिलाको साइकल पनि शव नजिकै रहेको र मृतक महिलाको खुट्टामा चप्पल, सल पनि नभएको र खुट्टाको औँलामा घिसारीएको चोट देखिएकाले महिलाको हत्या गरिएको हुनसक्ने पारिवारिक श्रोतले दाबी गर्दै आएका थिए ।
हत्या आरोपमा ठाकुरबाबा नगरपालिका-४, मैनवार घर भइ भुरीगाउँ बजारमा डेरा गरि बस्ने अन्दाजी ४५ वर्षको जन्जिरे थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । मृतक सोनचिरिया थारु र अभियुक्त जन्जिरे थारु बिच पटक पटक फोन सम्पर्क भएको र घटनाको अघिल्लो दिन पनि दुबै बिच फोन सम्पर्क भएको देखिएको प्रहरीले जनाएको छ ।
मृतक महिला सोनचिरिया थारुले प्रयोग गर्ने गरेको चप्पल निज जन्जिरे थारुले डेरा गरि बस्ने घरको पूर्वपट्टि खेतबारीमा लुकाइ राखेको अवस्थामा जन्जिरे थारुले बताए अनुसार फेला परेकाे छ । मृतक महिलाका पति अतवारी थारुले निज जन्जिरे थारुले नै हत्या गरेको भनी किटानी दिएपछि पक्राउ गरि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी बोहराले जानकारी दिनुभयो ।
हत्या आराेपमा पक्राउ परेका जन्जिरे थारुलाई नियन्त्रणमा लिएर आज सोमबार जिल्ला अदालत बर्दियामा पेश गरि ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।