online-aama-surachhya-sandesh

जनता आवास अन्तरगत ठाकुरबाबा नगरपालिकामा २९ वटा नयाँ घर बनाइने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : जनता आवास कार्यक्रम अन्तरगत बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १, २ र ४ मा २९ वटा घर निर्माण गरिने भएको छ ।

जनता आवास कार्यक्रम अन्तरगत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ मा ९ घर, वडा नम्बर २ मा ११ घर र वडा नम्बर ४ मा ९ घर गरि २९ घर निर्माण गरिने ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

जनता आवास कार्यक्रम अन्तरगत पालिकामै सम्झौता गर्नुपर्ने भन्दै पहल गरिएपछि लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्साल, शहरी विकास तथा भवन कार्यालय बाँकेका कर्मचारीसहितको टोली आएर ठाकुरबाबा नगरपालिकामा विपन्न आवास कार्यक्रममा छनौटमा परेका नगरबासीसंग सम्झौता भएको छ ।

सरकारले दलित समुदायमा पनि पिछडिएको समुदायलाई प्राथमिकतामा राखेर जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारले छुट्टै जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ समेत जारी गरेको छ । ती समुदायमा पनि आवास बिहीन जनतालाई प्राथमिकतामा राखेर आवास निर्माणका लागि लाभग्राही छनौट गरिएको नगरपालिकाले जनाएको छ ।

आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री पनि उपलब्ध गराएर सहभागीता जनाउनुपर्ने व्यवस्था छ ।

सरकारी घोषणा अनुसार जनता आवास कार्यक्रम अन्तरगत गत वर्ष ५, ७ र ८ नम्बर वडामा गरि यसअघि झण्डै ६० वटा घर निर्माण सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

शहरी विकास तथा भवन कार्यालय बाँकेका अनुसार बर्दियाको ठाकुरबाबासहित विभिन्न पालिकामा केही घरधनीले निर्माण सम्पन्न गरी अन्तिम किस्ता लगेका छन् भने केहीले दोस्रो र तेस्रो किस्ता लगेर काम अलपत्र छोडेका छन् ।

जनता आवास कार्यक्रममा दलित विपन्न र मुस्लीम जातिलाई प्राथमिकता दिइएको छ । छनौटमा परेका विपन्न घरपरिवारलाई समयमै घर निमार्ण कार्य सम्पन्न गर्न लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमील्सिनाले आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.