भुरीगाउँ, बर्दिया : गएको बुधवार विहान बर्दियाको ठाकुरबाबा नगरपालिका-१, भुरीगाउँको नेपाल टेलिकम कार्यालय गेट नजिक कञ्चनपुर-नेउलापुर गाउँ सडक किनारमा एक महिला मृत अवस्थामा फेला परेसंगै प्रहरीले कडा रुपमा अनुसन्धान गरिरहेको छ ।
रहस्यमयी ढंगबाट मृत अवस्थामा ठाकुरबाबा नगरपालिका-५, गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सन्चुरिया थारुको शव फेला परेसंगै प्रहरीले कडा रुपमा अनुसन्धान सुरु गरेको हो । मंगलबार मध्यान्हतिर घरबाट पेट दुखेको औषधी लिन मेडिकल हिँडेकी महिला अबेर रातीसम्म पनि घर नफर्किएपछि रातीदेखि खोजी भइरहेको थियो ।
बुधवार विहान ६ बजेतिर भुरीगाउँको कञ्चनपुर-नेउलापुर गाउँ जाने सडक किनारमा ठाकुरबाबा नगरपालिका-५, गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सन्चुरिया थारुको शव देखेपछि स्थानीयबासीन्दाले प्रहरीमा खबर गरेका थिए ।
अनुसन्धानसहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाएपछि भोलीपल्ट महिलाको शव पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको बर्दियाका डिएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो ।
मृतक महिलाको साइकल पनि शव नजिकै रहेको र मृतक महिलाको खुट्टामा चप्पल, सल पनि नभएको र खुट्टाको औँलामा घिसारीएको चोट देखिएकाले महिलाको हत्या गरिएको हुनसक्ने पारिवारिक श्रोतले दाबी गर्दै आएका थिए ।
महिलाको शव फेला पारेसंगै घटनास्थल आसपाससहित घरपरिवारसम्म पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहोराले बताउनुभयो । महिलाको रहस्यमय मृत्यु प्रकरण बारे प्रहरीले तिब्र रुपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनास्थल आसपासबाट शंकास्पद अवस्थामा रातो रंगको चप्पलसमेत फेला पारेको छ । नेपाल प्रहरीको विषेश अनुसन्धान टोलीले बिहिबार बिहानदेखि कडा रुपमा अनुसन्धान गरिहेको छ । घटनाको नजिक रहेको बताउँदै अनुसन्धान सकिए लगत्तै अबको केहि दिन भित्र प्रेस मिट गर्ने बर्दियाका डिएसपी बोहोराले बताउनुभयो ।