भुरीगाउँ, बर्दिया : जिल्ला खेलकुद विकास समिति बर्दियाको आयोजनामा भएको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्डको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ ।
गएको शुक्रबारदेखि सदरमुकाम गुलरियामा सुरु भएको प्रतियोगितामा सबैभन्दा बढी १९ स्वर्ण, ७ रजत र ५ कास्य पदकसहित ठाकुरबाबा नगरपालिकाले उपाधि जितेको हो । बाँसगढी नगरपालिका ११ स्वर्ण, ८ रजत र ९ कास्य पदक प्राप्त गर्दै दोस्रो भएको छ भने गुलरिया नगरपालिका ७ स्वर्ण, ८ रजत र १३ कास्य पदक सहित तेस्रो हुँदा राजापुर नगरपालिका ५ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित चौंथो भएको छ ।
यस्तै प्रतियोगितामा मधुवन नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेको छ भने बारबर्दिया नगरपालिकाले २ स्वर्ण, ८ रजत र ४ कास्य पदक जितेको छ । गेरुवा गाउँपालिकाले २ स्वर्ण, ६ रजत र २ कास्य पदक जितेको छ भने बढैयाताल गाउँपालिका स्वर्णविहीन बनेको रहि १ रजत र ५ कास्य पदक जितेको छ ।
बर्दिया जिल्लामा रहेका सबै ८ पालिकाबाट ५६० जना खेलाडीले प्रतिस्पर्धा गरेका जिल्ला खेलकुद विकास समिति बर्दियाका अध्यक्ष रबिन्द्र यादवले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट भएका ९० जना खेलाडीहरुलाई लुम्बिनी प्रदेशस्तरीय रनिङ्गशिल्ड प्रतियोगितामा पठाउन छनौट गरिएको जिल्ला खेलकुद विकास समिति बर्दियाका प्रमुख भुपेन्द्र पुनले बताउनुभयो ।
१४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको समापनमा विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले पदक प्रदान गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए ।