onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आधार परियोजनाद्वारा बारबर्दिया नगरपालिकामा संयुक्त अनुगमन

समूह तथा लाभान्वित व्यक्तिहरुको विवरण प्रस्तुत गर्न नगरप्रमुख थारुको अनुरोध

Sambad ADD long

बर्दिया : बारबर्दिया नगरपालिका स्तरीय सरोकारवाला निकायद्वारा आधार परियोजना मार्फत् गरिएका क्रियाकलापहरुको संयुक्त फिल्ड अनुगमन गरेको छ । सरोकारवाला निकायले फिल्ड अनुगमनसंगै पालिका स्तरीय परियोजना सल्लाहकार समितिको समिक्षा बैठक समेत सम्पन्न गरेको छ ।

डीसिएको आर्थिक सहयोगमा थारु महिला उत्थान केन्द्रद्वारा सञ्चालित आधार परियोजनाका कार्यक्रम लागु भएको ३ स्थानहरुमा नमुनाको रुपमा संयुक्त अनुगमन तथा समिक्षा बैठक बसेको हो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुको नेतृत्व तथा अध्यक्षतामा भएको अनुगमन र समिक्षा बैठकमा बारबर्दिया नगरपालिका वडा नम्बर ९ मा रहेका मिलन कृषक समूह, वडा नम्बर ३ मा रहेको जुनेली दुग्ध उत्पादक कृषक समूह र वडा नम्बर २ मा रहेको जनचेतना आधारभूत विद्यालयमा निर्माण गरिएको सुरक्षित खानेपानी ट्याङ्कीको अनुगमन गरिएको छ ।

अनुगमन पश्चात नगरस्तरीय समिक्षा बैठकमा आधार परियोजना अन्तरगत भएका सम्पूर्ण क्रियाकलाप तथा आगामी योजनाको बिषयमा छलफल गरिएको छ । छलफलमा सहभागीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुसंग सल्लाह, सुझाव तथा जिज्ञासा व्यक्त गरेका छन् । बिगत दुई वर्ष देखि संचालनमा रहेको परियोजनामा नयाँ आएका जनप्रनिधिहरुले कार्यक्रम संचालन भएको स्थान, लाभान्वित समूह, सहकारी संस्था तथा ब्यक्तिहरुको बिवरण बारे जानकारी भएको भए समन्वय र सहकार्य गर्न अझ सहज हुने धारणा राख्नु भएको छ ।

बैठकमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारुले कार्यक्रम संचालनमा रहेका क्षेत्र र समूह तथा लाभान्वित ब्यक्तिहरुको विवरण आगामी सल्लाहकार समितिको बैठकमा राख्न सुझाव दिनु भएको छ । समिक्षा बैठकमा थारु महिला उत्थान केन्द्र आधार परियोजनाका कार्यक्रम संयोजक मंगल थारुले परियोजनाको बारेमा जानकारी गराउनु भएको छ ।

आधार परियोजना मार्च २०२१ देखि शुरु भई फेब्रुअरी २०२४ सम्म संचालन हुने छ । यो परियोजना बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ देखि ११ नम्बर वडामा संचालनमा रहेको छ । हाल उक्त परियोजनाको कार्यक्रम गुलरिया नगरपालिकाको वडा नम्बर ४ र ५ मा पनि विस्तार गरिएको आधार परियोजनाका कार्यक्रम अधिकृत राधेकृष्ण थारुले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.