आर्थिक समृद्दिका लागि ठाकुरबाबामा उद्दमशिलता परियोजना सुरु
१ हजार ८ सय परिवार लाभान्वित हुने नगरपालिकाको अपेक्षा
भुरीगाउँ, बर्दिया : सबल ठाकुरबाबा, समुन्नत नगरबासी नारासहित अघि बढेको बर्दियाको ठाकुरबाबा नगरपालिकाले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तरगत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अनुगमन तथा समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम ठाकुरबाबा नगरपालिमा आजदेखि सुरुवात गरेको छ ।
ठाकुरबाबा नगरपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र उज्यालो नेपालको समन्वयमा सहकृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अनुगमन तथा समन्वय समिति गठन तथा अभिमुखिकरण कार्यक्रम ठाकुरबाबा नगरपालिकामा आजदेखि सुरुवात भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाका १ हजार ८ सय घरधुरीलाई न्यूनतम मासिक ५० हजार अर्थात् वार्षिक ६ लाख आम्दानी हुने गरी परियोजना सुरुवात गरिएको जनाइएको छ । सुरुवाती चरणमा ५ महिना संचालन हुने र त्यसपछि ३ वर्षसम्म परियोजना संचालन गरिने उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । ३ वर्ष ५ महिना अर्थात् ४१ महिनाका लागि सुरुवात गरिएको परियोजनामा नगरपालिकाबाट ३ करोड ९४ लाख ६४ हजार १५१ रुपैयाँ र हेफर इन्टरनेशनल नेपालबाट १ करोड ६९ लाख १३ हजार २०८ रुपैयाँ गरी ५ करोड ६३ लाख ७७ हजार ३५९ रुपैयाँमा परियोजना सुरुवात गरिने हेफर इन्टरनेशनल परियोजनाका संयोजक यम बहादुर थापाले जानकारी दिनुभयो ।
सुरुवाती चरणमा ५ महिनाका लागि कुल ६० लाख रकममा परियोजना संचालन गरिनेछ । परियोजनामा बाख्रा, दुग्ध उत्पादन तथा तरकारी खेतीका लागि नगरपालिका भित्रका विपन्न समुदायलाई आयआर्जन तथा जिविकोपार्जनका लागि काम गरिने नगरपालिकाका उप-प्रमुख विना कुमारी भट्टराईले जानकारी दिनुभयो । यसैबिच ३५० जना युवालाई समेत समेटेर युवा उद्दमशिलता कार्यक्रम अघिल्याइने परियोजनाले जनाएको छ ।