onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

रेडक्रस जिल्ला शाखा बर्दियाको सभापतिमा पुनः कृष्ण प्रसाद गौतम

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको अधिवेशनले सभापति पदमा कृष्ण प्रसाद गौतम सहित १७ सदस्यीय जिल्ला समितिको निर्विरोध चयन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, बाँसगढी उपशाखाको आतिथ्यतामा रामजानकी माध्यमिक विद्यालय बाँसगढी नगरपालिका–८, भैसासुरमा शनिबार सम्पन्न अधिवेशनबाट उप–सभापतिमा यशोदा थारू र नरेन्द्र प्रसाद कोइराला, मन्त्रीमा गोविन्द प्रसाद शर्मा, कोषाध्यक्षमा भेजेन्द्र बहादुर थापा, उप–मन्त्रीमा अशोक प्रसाद सिग्देल र उप–कोषाध्यक्षमा खगेन्द्र प्रसाद खनाल निर्विरोध चयन हुनु भएको छ ।

यसैगरी महिला सदस्यहरुमा सुनिता खड्का, सरस्वती शर्मा र रुकमाया भूसाल एवम् खुल्ला सदस्यहरुमा महेशचन्द्र गौतम, अर्जुन सुवेदी, कुमार लामिछाने, कृष्ण प्रसाद पोखरेल, मुकुन्द अर्याल, जनक बहादुर बुढा र रिम बहादुर खड्का रहनु भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाको ४०औं जिल्ला सभा तथा अधिवेशनको उद्घाटन गर्दै बाँसगढि नगरपालिकाका प्रमुख खडक बहादुर खड्काले बिपदको समयमा सबैले सम्झिने रेडक्रस र रेडक्रसकर्मीहरु प्रति सम्मान गर्दै रेडक्रस अभियानलाई अगाडि बढाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

नेपाल रेडक्रस सोसाइटी, बाँसगढि उप–शाखा सभापति नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बाँसगढि नगरपालिकाका नगर उप–प्रमुख इन्दिरा चौधरी, निवर्तमान नगर प्रमुख सालिकराम अधिकारी, नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रेडक्रस बाँके शाखा सभापति गोवर्धन सिंह सम्झना, बर्दिया शाखा सभापति कृष्ण प्रसाद गौतम लगायतका वक्ताहरूले अधिवेशन सफलताको कामना गर्दै मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेशनले शाखाका मन्त्री अर्जुन सुवेदीद्वारा प्रस्तुत प्रगती प्रतिवेदन र कोषाध्यक्ष चक्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यसैगरी कार्यक्रममा गत आर्थिक वर्षको गतिविधिको आधारमा उप–शाखाहरुलाई पुरस्कृत गरिएको छ । जसमा मधुवन (ख) उप–शाखा प्रथम, बारबर्दिया उप–शाखा द्वितीय र ठाकुरबाबा उप–शाखा तृतीय भएका छन् । अधिवेशनमा ११ वटा उप–शाखा र जिल्ला शाखाका गरी ७६ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.