सहकारी बैंकको आयोजनामा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सम्पन्न
भुरीगाउँ, बर्दिया : राष्ट्रिय सहकारी बैक लिमिटेड भुरीगाउँ शाखाको आयोजनामा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सम्पन्न भएको छ । गुलरिया सहकारी सञ्जालको समन्वयमा कर्जा तथा जोखीम व्यवस्थापन तालिम सञ्चालन भएको हो ।
सञ्चालित तालिममा कर्जाको महत्व, कर्जा प्रवाहको प्रकृया, उपयोगिता, कर्जाको विशलेषण तथा व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण गरिएको राष्ट्रिय सहकारी बैक लिमिटेड भुरीगाउँ शाखा प्रमुख किरण खत्रीले जानकारी दिनुभयो । सहकारीमा कर्जाको जोखिम व्यवस्थापन, धितो सुरक्षणको लागि आवश्यक कागजात, असुली तथा निष्कृय कर्जा व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरिएको छ ।
फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन भएको तालिममा गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका तथा मधुवन नगरपालिका भित्र सञ्चालनमा रहेका २५ वटा सहकारी संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत बल्लभ तिमल्सीनाले प्रशिक्षण दिनु भएको तालिमका सहभागिहरुले कर्जा लगानी प्रकृया, कर्जाको जोखीम व्यवस्थापन, कानुनी लिखत तथा जोखीम व्यवस्था विच विस्तृतरुपमा जानकारी पाइएको र आगामी दिनहरुमा पनि सहकारीका विभिन्न पक्षहरुको विषयमा तालिमको आयोजना गर्न सहकारी बैंकलाई अनुरोध समेत गरेका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडको लुम्बिनी प्रदेश सञ्चालक सदस्य विजया धितालले राष्ट्रिय सहकारी बैंकले शेयर सदस्यहरुलाई बैंकिङ कारोबार संगै सदस्यको हित र स्तरोन्नतीका लागि सहकारी शिक्षा, तालिम तथा स्तरीकरणका माध्यमबाट दिगो सहकारी बनाउन विविध कृयाकलापहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन भएको तालिम गुलरिया सहकारी सञ्जालकी संयोजक इन्दिरा सुवेदीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको लुम्बिनी प्रदेश सञ्चालक सदस्य विजया धितालको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटाको विशेष आतिथ्यता र गुलरिया सहकारी सञ्जालका सचिव निम थापा लगायतको उपस्थितीमा समापन भएको छ ।