
भुरीगाउँ, बर्दिया : मधुवन नगरपालिकामा चितुवाको आक्रमणबाट एकै दिन तीन जना घाइते भएका छन् । मधुवन नगरपालिका वडा नम्बर २ बंगालीपुरमा बस्ने ७० वर्षिय फूलराम चौधरी, सोही ठाउँ बस्ने १५ वर्षिय विनायक चौधरी र डिभिजन वन कार्यालय बर्दियाका वन रक्षक ४० वर्षिय धर्मराज चौधरीलाई चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
घाइते मध्य ७० वर्षिय फूलराम चौधरीको अवस्था गम्भिर रहेको र चौधरीको बर्दिया अस्पताल गुलरियामा उपचार भइ रहेको खाता सब–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो ।
चितुवा धपाउन जाने क्रममा चितुवाले आक्रमण गरि घाइते बनाएको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताउनु भयो । सामान्य घाइते अन्य दुई जनाको सुर्यपटुवा स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइतेको शरीरका विभिन्न भागमा नंग्राले चिथोरेका घाउ रहेका छन ।
यसैबीच मधुवन नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि वन्यजन्तुको आक्रमणबाट यस क्षेत्रका बासिन्दा प्रभावित भएको जनाएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटद्वारा विज्ञप्तिमा मधुवन क्षेत्रमा भइरहेको वन्यजन्तुको आक्रमण र बालीनाली क्षति रोक्न तत्कालै तारबार लगाउन माग गर्नु भएको छ ।