onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भक्तपुरमा जारी अन्तर नगर पुरुष खो खोको उपाधी ठाकुरबाबालाई

Sambad ADD long

भुरीगाउँ, बर्दिया : भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर पुरुष खो खोको प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ । आज मंगलबार ठाकुरबाबा नगरपालिका र कीर्तिपुर नगरपालिकाबिच भएको फाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबा नगरपालिकाले उपाधी जितेको हो ।

सोमबार भएको सेमिफाइनल खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो भने भक्तपुर नगरपालिका बि लाई हराउँदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा तय गरेको थियो । जीत पछि अनलाइन संवादसंगको संक्षिप्त कुराकानीमा टिममा रहेका सबै खेलाडीहरुको अथक मेहनतले नै उपाधी जित्न सफल भएको प्रशिक्षक खगेन्द्र बहादुर शाहीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम भएको ठाकुरबाबा नगरपालिकाको समूहले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको कीर्तिपुर नगरपालिकाले १ लाख रुपैयाँ प्राप्त गरेको छ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबिच आज नै खेल हुनेछ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

Leave A Reply

Your email address will not be published.