onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

समुदायको संस्कृती युवा पुस्तालाई हस्तान्तरण गर्न थारु आयोगका अध्यक्षको आग्रह

थारुको सिप, कला, संस्कृती जोगाउँदै डिजे प्रथा अन्त्य गर्न लुम्बिनी प्रदेश सांसद कृष्णा कुष्मा थारुको अनुरोध

Sambad ADD long

भुरीगाउँ, बर्दिया : थारु समुदायको कला, संस्कृतीलाई पुरानो जगमा टेकेर नयाँ युवा पुस्तालाई सुम्पिँदै व्यवसायिक रुपमा अघि बढ्न सकेमा मात्र थारु समुदायको कला, संस्कृती पुस्ता हस्तान्तण हुने थारु आयोगका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद चौधरीले बताउनुभएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मिर्चैयामा निमनकुसुम्ह्या थारु गोत्यार समाजको छैठौँ राष्ट्रिय गोत्यार सम्मेलन २०७९ लाई सम्बोधन गर्दै उहाँले थारु समुदायको परम्परागत भाषा तथा कला संस्कृती युवा पुस्तालाई हस्तान्तरण गर्न पनि अनुरोध गर्नुभएको छ । यस्तो किसिमको पारिवारिक जमघटको सम्मेलनले अरु जाती समुदायलाई पनि प्रेरणा मिल्ने थारु आयोगका अध्यक्ष थारुले बताउनुभयो ।

निमनकुसुम्ह्या थारु गोत्यार समाज केन्द्रिय कार्यालय दाङको आयोजना तथा जिल्ला कार्य समिती बर्दियाको व्यवस्थापनमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ मिर्चैया गाउँमा सम्मेलन आयोजना गरिएको कलिराम कुष्मा थारुले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुष्मा थारुले थारु समुदायको सिप, कला, संस्कृती युवा पुस्तालाई हस्तान्तरण गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । थारु समुदायको मौलिक नाचगानको ठाउँमा डिजेको प्रयोग बढ्दो भएकोमा चिन्ता व्यक्त गर्दै डिजे प्रथाको अन्त्य गर्न तर्फ सबैलाई लुम्बिनी प्रदेश सभा सदस्य थारुले आग्रह गर्नुभयो ।

यसैबीच ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले पनि गोत्यार सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उहाँले पारिवारिक जमघट गरेर आफ्ना आफन्तहरुले कसरी जिवन निर्वाह चलाइरहको छन् भन्ने उद्देश्यले संगठित भएर गोत्यार सम्मेलन गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

यसैगरि कार्यक्रममा सहभागि हुनुभएका थारु कल्याणकारिणी सभाका केन्द्रिय सहसचिव मिनराज चौधरीले सम्मेलनको शुभकामना दिँदै ५ जिल्लामा रहेका थारु समुदायका युवा पुस्ताले संस्कार, संस्कृती जोगाउन नसकिरहेको अहिलेको अवस्थामा हराउँदै जान थालेको भाषा, धर्म, संस्कृती जोगाउनमा यो सम्मेलन ठुलो उपलब्धिमुलक रहने बताउनुभयो ।

पश्चिम नेपालमा बसोबास गर्ने दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट गोत्यार सम्मेलन कार्यक्रममा आएका थारु समुदायका युवा युवतीहरु मिलेर सहभागिहरुलाई थारु साँस्कृतिक नाचगान देखाएर समेत रमाइलो गरेका थिए । पश्चिम नेपालमा बसोबास गर्ने दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका आफ्ना गोत्यार अगुवाहरुले २०६८ साल फागुन ७ गतेदेखि संगठित भएर सुरुवात गरेको निमनकुसुम्ह्या थारु जातीका पारिवारीक संस्था हो ।

उनिहरुको आफ्नो पारिवारिक पुस्ताको विवरण, रहन सहन, कला संस्कृती लगायतको वृहत जानकारीमुलक आशाराम थारुले छिट्कल निमनकुसुम्ह्या थारुक् बिटोरल इतिहास शिर्षकमा पुस्तक प्रकाशन गर्नुभएको छ । सम्मेलनमा आफ्ना समाजबाट लोक सेवा आयोगमा नाम निकाल्न सफल ५ जना र उत्कृष्ट व्यवसाय गरिरहेका १३ जनासहित २१ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रम संचालिका राजकुमारी चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रम थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा विशिष्ट आतिथ्यतामा लुम्बीनी प्रदेश सभा सदस्य कृष्णा कुष्मा थारु, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, थारु कल्याणकारीणी सभाका केन्द्रिय सहसचिव मिनराज चौधरीको सहभागिता रहेको थियो । यस्तै अतिथीहरुमा वडा नम्बर ३ का वडाध्यक्ष श्रीकृष्ण थारु, समाजसेवी मक्कुराम थारु, लहनु थारु लगायतको सहभागिता रहेको कार्यक्रम निमनकुसुम्ह्या थारु गोत्यार समाजका केन्द्रिय अध्यक्ष श्रीराम थारुको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.