सहकारी बैंकद्वारा सहकारीकर्मीका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम सुरु
सहकारीमा देखा परेका विचलन न्यूनिकरणमा तालिम परिणाममुखी हुने अपेक्षा
भुरीगाउँ, बर्दिया : सहकारीका व्यवस्थापन समूह, लेखा समूह तथा संचालकहरुलाई लक्षित गरी दुई दिने सम्पत्ति दायित्व व्यवस्थापन तालिम भुरीगाउँमा सुरु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाको आयोजनामा आज देखि तालिम शुभारम्भ भएको हो ।
दुई दिनसम्म संचालन हुने तालिममा सम्पत्ति दायित्व व्यवस्थापनका विषयमा जानकारी गराउँदै सहकारी संस्थाको गुणस्तरीय वित्तिय संरचना, कोष लागत निर्धारण तथा प्रभावकारी तरलता व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण दिइने राष्ट्रिय सहकारी बैंक लिमिटेड भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ, बर्दियाका अध्यक्ष नवराज न्यौपानेले सहकारीमा तरलताको अभावले सहकारीहरु समस्यामा परि रहेको बताउँदै सहकारीको अभियान मार्फत् समुदायमा जागरुकता ल्याउनु पर्ने बताउनु भयो । संचालित सम्पत्ति दायित्व व्यवस्थापन तालिमले सहकारीमा आउने समस्याहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिन सक्षम बनाउनेमा आफु विश्वस्त रहेको न्यौपानेले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथी रहनु भएका नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)का महासचिव दामोदर अधिकारीले समसामयिक विषयवस्तुको छनौट गर्दै तालिमको आयोजना गरी सहकारीको क्षमता अभिवृद्दिमा सहयोग पुर्याएकोमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई धन्यवाद दिनुभयो । सहकारी आफ्ना मूल्य तथा मान्यताका आधारमा संचालन हुनुपर्ने बताउँदे सामुदायिक हकहितको लागि सहकारी निरन्तर लाग्नुपर्ने बताउनुभयो ।
सहकारीले सदस्यलाई ग्राहकको रुपमा नभइ सहकारीको मालिकको रुपमा व्यवहार गर्नुपर्ने र सहकारी सदस्य केन्द्रित भएर संचालन हुनुपर्ने बताउनुभयो । नीति–नियम भन्दा बाहिर गएर सहकारीले कार्यक्रमहरु संचालन गर्नाले नै सहकारी क्षेत्र धरापमा परेको बताउँदे नेफ्सकुन महासचिव अधिकारीले वर्तमान समयमा सहकारीमा देखा परेका विचलनका विच सम्पत्ती दायित्व व्यवस्थापन तालिम परिणाममुखी हुनेमा आशा व्यक्त गर्नुभयो । सहकारी संचालन गर्दा संचालक तथा कर्मचारीले संस्थागत सुशासनमा ख्याल राख्दै समुदाय केन्द्रित र सदस्य केन्द्रित भएर सहकारी निर्माणमा जोड दिनुपर्ने समेत अधिकारीले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्घाटन शत्रको अध्यक्षता गर्नु भएका राष्ट्रिय सहकारी बैंक लिमिटेड समन्वय उप–समिति सदस्य जनार्दन योगीले दुई दिनसम्म संचालन हुने तालिममा सक्रियता पूर्वक सहभागी भई तालिममा सिकेका कुराहरुलाई सहकारीमा लागु गर्न सम्पूर्ण सहभागी सहकारीकर्मीहरुलाई अनुरोध गर्नुभयो । सहकारी बैंक निरन्तर सहकारी क्षेत्रको उत्थानका लागि रहेको बताउँदै सहकारी र सहकारीकर्मीको क्षमता अभिबृद्दिका लागि निरन्तर लागि रहने बताउनु भयो ।
भोलीसम्म संचालन हुने कार्यक्रममा ठाकुरबाबा र मधुवन नगरपालिकाका विभिन्न सहकारी संस्थाहरुबाट व्यवस्थापन समूह, लेखा समूह तथा संचालकहरु गरी ३४ जनाको सहभागीता रहेको छ । तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत बल्लभ तिमल्सीनाले प्रशिक्षण दिई रहनु भएको छ ।