ठाकुरबाबा नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गामा चिल्ड्रेन पार्क र ओपन जिम क्लब बनाउँदै
भुरीगाउँ बजार मै बन्ने भयो बालबालिका तथा वृद्धवृद्धामैत्री पार्क र खुल्ला व्यायामशाला
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगर भित्र अतिक्रमण गरिएका सरकारी तथा ऐलानी (सार्वजनिक) जग्गा खाली गराउने अभियान सुरु गरेको छ । वर्षौँदेखि सरकारी तथा ऐलानी जग्गा अतिक्र्रमण गरि बनाईएका संरचना नगरपालिकाले हटाउन सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँ बजार क्षेत्रको १७ कठ्ठा अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर चिल्डे«न पार्क र ओपनजिम क्लब बनाउन थालिएको नगर प्रमुख लम्सालले बताउनुभयो । अतिक्रमित सार्वजनिक जग्गालाई नगरपालिकाले आफ्नो मातहतमा लिएर सार्वजनिक संरचना निर्माण गर्ने अभियान पनि सुरु गरेको छ । सुरुवातामा नगरपालिकाको कार्यालय रहेको मुख्य बजार भुरिगाउँ बजार क्षेत्रमा स्थानीयद्धारा अतिक्रमित १७ कठ्ठा सरकारी तथा ऐलानी जग्गा खाली गराएर चिल्डे«न पार्क र ओपन जिम क्लब बनाउन थालिएको हो ।
वर्षौँदेखि बजार क्षेत्रमा स्थानीयले अतिक्रमण गरेको १७ कठ्ठा सार्वजनिक जग्गा खाली गराएर सिँचाईँ नहरसहित बालबालिका तथा वृद्धवृद्धा पार्क र विहान मर्निङवाक गर्न तथा खुल्ला रुपमा व्यायाम गर्न सहज हुने गरि हरियाली पार्क बनाउन सुरु गरिएको नगर प्रमुख लम्सालले बताउनुभयो । ठाकुरबाबा नगरपालिका भित्रका अधिकाँश वडामा सार्वजनिक जग्गा अतिक्रमण गरि संरचना बनाईएको भन्ने जानकारी पाएपछि नगरपालिकाका जनप्रतिनिधीहरुले अमिनसहित स्थलगत पुगेर नाप नक्सा गर्दा अतिक्रमण भएका सार्वजनिक जग्गामा पर्ने संरचना नगर प्रमुख तथा वडाका जनप्रतिनिधीको उपस्थितीमा हटाईएको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।
सिँचाईँ नहरसमेत रहेकाले नहर निर्माणको काम बबई सिँचाईँ आयोजना मार्फत बनाउने र तारबार तथा वृक्षारोपण गरेर पार्क निर्माणको काम नगरपालिकाले बनाउने गरि काम अघि बढेको छ, त्यसका लागि सिँचाइ आयोजना र नगरपालिकाबाट गरि झण्डै दुई करोड रकम लाग्ने अनुमान गरिएको छ । अतिक्रमण भएको जग्गा खाली गराएर नगर प्रमुख, वडा नम्बर १ का जनप्रतिनिधी, नगरपालिकाका प्राविधिक कर्मचारीसहितको टोलीले जेसिभी (डोजर) लगाएर खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ भने काठमाण्डौँबाट आएका विज्ञ टोलीले पार्कको डिजाइन बनाइरहेका छन् । ‘काम सुरु भईसक्यो, अब ४ देखि ६ महिनामा वृक्षारोपण गर्ने र प्रयोगमा ल्याउने योजना छ’ नगरप्रमुख लम्सालले भन्नुभयो ।
नगरपालिकाका अन्य वडाहरुमा पनि अतिक्रमण भएका सार्वजनिक जग्गा खोजी गरि नगरपालिकाले आफ्नो मातहतमा लिएर नगरबासीको आवश्यकता र माग अनुसार सार्वजनिक संरचना निर्माण गरिने नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।
नगरभित्र कतै पनि खुल्ला पार्क छैन, बजारमा खुल्ला पार्क बनाउन लागेकोमा नगरबासी खुसी भएका छन् । अहिलेसम्म सरकारी तथा ऐलानी जग्गा अतिक्रमण गरि बनाईएका संरचना हटाएर सार्वजनिक स्थल निर्माण गर्ने तर्फ कसैले पनि चासो नदिएको तर अहिले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरु भएकोमा अधिकाँश नगरबासीले नगरपालिकाको राम्रो काम भन्दै प्रसंशा गर्न थालेका छन् ।