सिको साकोसद्वारा सार्वजनिक स्थल सरसफाइ कार्यक्रम सम्पन्न

भुरीगाउँ, बर्दिया : सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड (सिको साकोस) महिला सशक्तीकरण उप–समितिको आयोजना तथा सिको महिला जीविकोपार्जन क्लबहरुको सक्रियतामा सार्वजनिक स्थल सरसफाइ गरिएको छ । सिको साकोसका विभिन्न ६ वटा सेवाकेन्द्रहरुमा माघ २८ गते शनिबार एकै साथ सार्वजनिक स्थल सरसफाइ तथा वातावरणिय सचेतना कार्यक्रम सम्पन्न गरिएको हो ।
संस्थाको वार्षिक कार्ययोजना अनुसार हरेक वर्ष जस्तै यो वर्ष पनि विविध कार्यक्रम मध्य शनिबार सार्वजनिक स्थल सरसफाइ कार्यक्रम गरिएको सिको साकोसका अध्यक्ष दामोदर अधिकारीले बताउनु भयो । सबै मिलेर आफ्नो वरपरको वातावरण सफा राख्ने हो भने त्यसले स्वस्थ जीवनयापनमा ठुलो टेवा पुर्याउने साथै वातावरणको सौन्दर्यता मनमोहक राखी रहनको लागि ठुलो मद्दत गर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको साकोसका अध्यक्ष अधिकारीले बताउनु भयो ।
सिको साकोसको संचालक समितिका पदाधिकारी र सदस्यहरु, लेखा सुपरीवेक्षण समिति, विभिन्न उप–समिति, सिको जिविकोपार्जन क्लबका पदाधिकारी, सिको साकोसका सदस्यहरू, नेपाल प्रहरी तथा व्यवस्थापन टिमको सक्रिय सहभागिता रहेको कार्यक्रममा मुख्य कार्यालय भुरीगाँउ सहित अन्य ५ वटा सेवाकेन्द्रमा करिब २५० जनाको उपस्थिति रहेको सिको साकोसका सूचना अधिकारी शंकर गौतमले जानकारी दिनुभयो ।
सिको साकोसको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा केन्द्रिय कार्यालय रहेको सिको साकोसको बर्दियाका ५ वटा पालिका कार्यक्षेत्र रहेको छ । जिल्लामा ७ वटा सेवाकेन्द्र रहेको सहकारीमा हाल ११ हजार २७ जना शेयर सदस्य रहेका छन् ।