online-aama-surachhya-sandesh

नमूना युवा संसद : स्थानीयतहको सभा सञ्चालनमा युवाको चासो बढ्दै

Sambad ADD long

जयनगर, बर्दिया : बारबर्दिया नगरपालिकामा सञ्चालन भएको नमूना युवा संसदमा बारबर्दिया नगरपालिकाका युवाहरुले यथार्थ समस्याहरु उठाएका छन् । नमूना युवा संसदमा युवाहरुले सामाजिक विकृती विसंगती, भौतिक संरचना निर्माणमा ढिलासुस्ती तथा गुणस्तरहिन भएको कुरा, सिमासुरक्षा तथा लागुपदार्थ दुर्व्यसनी जस्ता समस्याहरु उठाएका हुन् ।

युवाहरुलाई संसदीय अभ्यासका विषयमा जानकारी गराउने उद्देश्यले चार दिन सम्म सञ्चालन भएको नमूना युवा संसद कार्यक्रममा युवाहरुले आफुले देखेका र भोगेका समस्याहरु उठाएका हुन् । बारबर्दिया नगरपालिकामा बालविवाह, खुल्ला मध्यपान सहित तामझामका साथ गरिने विवाह, पुलपुलेसा तथा बाटोहरुको निर्माण समयसिमा भित्र सम्पन्न नहुने, समयमा बजेट कार्यान्वयन नहुने, योजना निर्माणको बारेमा स्थानीयहरुले सहजै सूचना तथा जानकारी नपाउने समस्याहरु नमूना युवा संसदमा उठेको छ । भारत र नेपालको खुल्ला सिमाना रहेकोले सुरक्षा चुनौती, बर्दियाबासीलाई मानव बेचबिखन, व्यापार व्यवसाय लगायतमा पार्ने प्रभावको विषयमा पनि युवाहरुले सवाल उठाएका थिए । संसद नमूना भएपनि उठेका सवाल र विषयवस्तु भने वास्तविक नै उठेका थिए ।

४ दिनसम्म सञ्चालन भएको नमूना युवा संसद कार्यक्रममा युवाहरुले संसदीय अभ्यासको बारेमा जानकारी लिएका छन् । अब संघ, प्रदेश तथा स्थानीय तहको सभा सञ्चालनको विषयमा चासो बढेको सहभागीहरुले बताएका छन् । संसदको विषयमा सबै युवाहरुलाई आधारभूत जानकारी गराइएको छ । जनप्रतिनिधिहरुलाई सचेत र सुझव दिन वा चासो राखि देश विकासमा टेवा पुर्‍याउने युवाहरुको भनाई रहेको थियो । यस्ता खालका कार्यक्रमहरु निरन्तरता हुनु पर्ने युवाहरुको माग समेत रहेको छ । संसदीय व्यवस्थाबारे जानकारी भए अहिलेका युवाहरु सक्षम र सशक्त भएर देश सञ्चालन गर्ने तथा नेतृत्व दिन अग्रसर हुने सहभागीले बताएका छन् ।

बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा भेरी वातावरणीय बिशिष्टिता समूह (बि–ग्रुप) बाँकेको प्राविधिक सहयोगामा नमूना युवा संसद कार्यक्रम सम्पनन भएको हो । कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सामाजिक अभियन्ता प्रकाश उपाध्ययले गर्नु भएको थियो । कार्यक्रममा सहभागी भएका युवाहरुले संसदमा हुने युवा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष, युवा प्रधानमन्त्री, मन्त्री, प्रतिपक्ष दलका नेता, सभामुख, उपसभामुख, सचेतक लगायतको भूमिकामा निर्वाह गरेका थिए ।

नमूना युवा संसद कार्यक्रममा बारबर्दिया नगरपालिकाका ११ वटै वडाका १६ देखि २४ वर्ष उमेर समूहका ४० जना युवाहरुको सहभागिता रहेको थियो । माघ २४ गते देखी सुरु भएको कार्यक्रम माघ २७ गते समापन भएको आयोजक संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.