
ज्ञानोदय आधारभूत विद्यालय, ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को सतघरुवा भन्ने ठाउँमा स्थापित विद्यालय हो । यो विद्यालय कुनै बेला खचाखच विद्यार्थीले भरिभराउ थियो । गाउँसंगै जोडिएको भएपनि अत्यन्त शान्त वातावरण रहेको स्थानमा विद्यालय स्थापित थियो ।
कुनै समय हराभरा रहेको विद्यालयले समयानुकुल आफुलाई बदल्न सकेन । निजि विद्यालय तर्फ बढेको अभिभावकको आकर्षणलाई विद्यालयले रोक्न सकेन र विद्यालय बिस्तारै समाजको आँखाबाट ओझेलमा पर्दै गयो । विद्यालय प्रती अभिभावकको विश्वास घट्दै गयो फलतः विद्यार्थी संख्या अत्यन्त न्यून हुँदै १४ जनामा कायम भयो त्यसमा पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या ९ जना मात्र थियो ।
२०७१ सालको बिनासकारी बाढी पछि बिस्थापित दुई परिवार विद्यालयकै कोठामा शरण लिएर बसेका थिए भने उनिहरुले पालेका गाईबस्तु पनि विद्यालयकै कक्षा कोठामा बाँधिन्थे । माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय सरकारहरुलाई सुम्पिएको थियो तर मौजुदा शिक्षा ऐन २०२८ को समयानुकुल संसोधन नहुँदा अन्यौल कायमै थियो । कतिपय विद्यालयमा विद्यार्थीको चाप बढि तर शिक्षक कम, कतिपय विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून तर शिक्षक व्यवस्थापन गरिराख्नु पर्ने कारणले विद्यालय गाभ्ने वा खारेजी नगरी नहुने बाध्यात्मक अवस्था बनेको थियो । शिक्षा समितिमा पेश भएको गाभ्ने र खारेजी सम्बधी विद्यालयको सूचिमा ज्ञानोदय आधारभूत विद्यालयको नाम पनि समावेश थियो ।
यसै क्रममा ज्ञानोदय आधारभूत विद्यालयको दुरावस्थाको विषयमा सम्बन्धित वडाका जनप्रतिनिधि र विद्यालयका शिक्षक, व्यवस्थापन समितिका अध्यक्षलाई बोलाएर विद्यालय सञ्चालन गर्न सकिने वा नसकिने भन्ने विषयमा छलफल गरियो । छलफलको क्रममा एक पटक सम्बन्धित विद्यालयको क्याचमेन्ट क्षेत्रका अभिभावक संग नगर प्रमुख सहित बसेर छलफल गर्ने भन्ने निष्कर्ष निकालियो ।
सम्भवत २०७५ साल वैशाख २ गते हुनुपर्छ, त्यस वडाका वडा सदस्य बिष्णु बहादुर शाहीको अगुवाइमा बृहत अभिभावक भेला भयो । भेलामा गाउँका बडघर , बुद्धिजीवी, वडाध्यक्ष सहितका जनप्रतिनिधि, नगरबाट नगर प्रमुख सहित शिक्षा अधिकारी तत्कालिन श्रोत ब्यक्ती र नजिकको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रतिनिधिको समेत सहभागितामा विद्यालयको दुरावस्था हुनुको कारण के हो ? विद्यार्थी संख्या घट्नुको मुल कारण ? विद्यालयको समग्र भौतिक , शैक्षिक अवस्था ? नजिकको खुलपुर, सुजनपुरबाट अध्ययन गर्न आउने विद्यार्थीलाई खोलाले छेक्ने जस्ता समस्याहरुको पहिचान गरि त्यसको निराकरणका लागि सरोकारवाला सबै पक्षले जिम्मेवारी बाँड्फाड गर्ने निर्णय भयो । प्रमुख सहित जनप्रतिनिधिबाट नगरपालिका तथा वडाको तर्फबाट गरिने कामको प्रतिवद्धता व्यक्त गरियो । अभिभावकलाई आफ्ना नानिबाबुलाई सोही विद्यालयमा फर्काउन अनुरोध गरि विद्यालयको जिम्मेवारी सम्बन्धित वडा र निर्वाचित वडा सदस्य बिष्णु बहादुर शाहिको नेतृत्वमा विद्यालय व्यवस्थापन समिती गठन गरि विद्यालय व्यवबस्थापनको काम अघि बढाइयो ।
विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी मन्जु ढकाललाई दियो । विद्यालय व्यवस्थापन समिती, शिक्षक अनि वडा कार्यालयको हरेक कदममा नगरले आफ्नो प्रतिवद्धता बमोजिम सहयोग गर्दै गयो । वडाले आफ्नो बजेटको केही हिस्सा उक्त विद्यालयको मरमत सुधार, तारबार तथा पुनः निर्माणमा लगायो । नगरले थप कक्षा कोठा, विद्यार्थीलाई खाजा, विद्यार्थीलाई न्यानो कपडा, थप शिक्षकको व्यवस्थाका साथै नियमित अनुगमनको व्यवस्था मिलायो ।
अहिले विद्यालयमा १२८ विद्यार्थी अध्ययन गर्छन्, आठवटा कार्यालय सहित कक्षा कोठा, खेल्ने चौर, शौचालय, ९ जना शिक्षक कर्मचारी कार्यरत सो विद्यालय नमूना आधारभुत विद्यालयको रुपमा स्थापित भएको छ । नगरबाट विद्यालयले उत्कृष्ट व्यवस्थापनको पुरस्कार समेत प्राप्त गरेको छ । विद्यालयको हालको प्रगतिमा तत्कालीन जनप्रतिनिधिका रुपमा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर शाही लगायत सम्पूर्ण स्थानीय, अभिभावक, तत्कालिन प्रधानाध्यापक सहित शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको छ ।
हाल विद्यालयले अभिभावकहरु संग नियमित अन्तरसंवाद गरी रहन्छ । विद्यालयको हरेक कृयाकलापमा अभिभावकको रुचि छ । विद्यालय प्रतिको विश्वास ह्वात्तै बढेको छ । विद्यालय र अभिभावकको बिचमा नङ र मासुको जस्तै सम्बन्ध रहेको प्रधानाध्यापक दिलसरा भण्डारी बताउनु हुन्छ । बलपुरान टोल , सतघरुवा झरन लगायतका स्थानमा बाढिले भत्काएका कल्बर्टहरु नगरपालिकाले पक्की बनाइदिएको छ । खुलपुर–सुजनपुर जोड्ने झोलुङ्गे पुल नगरपालिकाले निर्माण गरिदिए पछि बालबालिकालाई विद्यालय आउजाउ गर्न सजिलो बनाएको छ । यसरी एउटा मृत अवस्थामा पुगेको आधारभुत विद्यालयले पुर्नजीवन प्राप्त गरि नमूना विद्यालय बनेको छ ।
हालको विद्यालयको प्रगतिले गाउँका बुद्धिजीवी, समाजसेवी, बडघर लगायत अगुवा खुशी देखिनु हुन्छ । शुन्यमा रहेको विद्यालयको कोष चलायमान भएको छ । विद्यालयले कक्षा नर्सरी देखि कक्षा पाँचसम्म अध्यापन गराउन थालेको छ । नर्सरी देखि कक्षा एक सम्म अंग्रेजी माध्यम पुर्याइएको छ ।आगामी दिनमा थप योजना बनाएर अगाडि बढ्ने सोच रहेको प्रधानाध्यापकले बताउनु हुन्छ ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका व्यक्तिगत विचारहरु हुन् । – सम्पादक