भुरीगाउँ, बर्दिया : स्थानीय सरकारले मनोसामाजिक एवम् मानसिक स्वास्थ्यको बढ्दो समस्यालाई न्यूनिकरण गर्न प्रयास सुरु गरेका छन् । विविध कारणले गर्दा पछिल्लो समयमा जटिल बन्दै गएको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु बढ्दै गएको सन्दर्भमा ठाकुरबाबा नगरपालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताएको छ ।
स्वीस राजदुतावास र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी. – नेपाल)को साझेदारीमा ठाकुरबाबा नगरपालिकाबाट सञ्चालित ‘द्वन्दपिडितहरुको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम’को सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति तयार भइसकेकोले यसलाई तत्काल लागु गरी कार्यन्वयन गर्नुपर्नेमा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल जोड दिनु भएको छ । स्थानीय परियोजना सल्लाहकार समितिको बैठकका क्रममा नगर प्रमुख लम्सालले द्वन्द प्रभावित व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बिमामा जोड्नुका साथै द्वन्द प्रभावित व्यक्ति र मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति वा परिवारका सदस्यहरुलाई आयमुलक क्रियाकलापमा समेट्दै लगिने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप–प्रमुख बिना कुमारी भट्टराईले महिला तथा असहज परिस्थीतिमा रहेका नगरबासीलाई क्रमिक रुपमा आयमुलक क्रियाकलापमा समेट्दै लगिने बताउनु भयो । पछिल्लो समयमा किशोर किशोरीहरुमा लागुपदार्थ दुर्व्यसनी लगायतका विभिन्न व्यवहारीक र मनोसामाजिक समस्या देखिएकाले विद्यालय स्तरमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याको लक्षण, निदानका उपाय र तनाव व्यवस्थापन लगायतका क्रियाकलापहरु तयार गरी लागु गरिने प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनु भयो ।
स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा सी.एम.सी. – नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले यस अवधीमा कार्यक्रमबाट संचालन गरिएका क्रियाकलाप, सिकाई, उपलब्धी तथा स्थानीय निकायसंग भावी दिनमा गर्न सकिने क्रियाकलापका बारे प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रमका फोकल पर्सन एवम् ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, बालबालिका, महिला शाखा प्रमुख गोगनसरा आचार्य, द्वन्द प्रभावित सेवाग्राहीको प्रतिनिधीत्व गर्दै राम कुमारी थारु, जयन्ती शाही लगायतले द्वन्दप्रभावित व्यक्तिहरुका सवाल र कार्यक्रमको प्रभावकारीताका बारेमा कुरा राखेको द्वन्दप्रभावित व्यक्तिहरु र संक्रमणकालीन न्यायका अभियान्ता भागीराम चौधरीले बताउनु भयो ।