बारबर्दिया नगरपालिकामा नमूना युवा संसद कार्यक्रमको आयोजना
संसदीय प्रणालीको बारेमा युवाहरुमा सकारात्मक बुझाई हुने अपेक्षा
भुरीगाउँ, बर्दिया : बारबर्दिया नगरपालिकामा युवाहरुलाई संसदीय अभ्यास बारे जानकारी गराउने उद्देश्यले नमूना युवा संसद शुरु भएको छ । चार दिन सम्म सञ्चालन हुने नमूना युवा संसद बारबर्दिया नगरपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा भेरी वातावरणीय बिशिष्टिता समूह (बि–ग्रुप) बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले नमूना युवा संसदले युवाहरुमा संसदीय अभ्यासमा सकारात्मक जोसजाँगर उत्पन्न गर्ने अपेक्षा लिएको र यसबाट आफुहरुलाई पनि सिक्ने अवसर प्राप्त हुने अपेक्षा लिएको बताउनुभयो । अहिले पनि स्थानीय पालिकाहरुले बिधिपुर्वक नगर तथा गाँउसभा संचालन गर्न नसकिरहेको अवस्थामा यसले बिधि र प्रणालीमा सभा सञ्चालन हुने तर्फ ध्यानआर्कषण गराउने बताउनु भयो ।
कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगर उप–प्रमुख रत्न कुमारी पाण्डेले युवाहरुलाई राजनीतिमा मात्र नभएर अन्य कार्यका लागि पनि यो युवा संसद उपलब्धीमुलक हुने बताउनुभयो । कार्यक्रममा सामाजिक अभियन्ता तथा युवा संसद कार्यक्रमका सहजकर्ता प्रकाश उपाध्यायले युवाहरुलाई संसदीय प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले नमूना संसद संचालन गर्दै आएको जानकारी दिनुभयो । युवाहरुलाई संसदीय प्रक्रियाको बारेमा जानकारी गराई गाँउसभा तथा नगरसभा प्रति चनाखो बनाउने उद्देश्य पनि यस कार्यक्रमको रहेको भन्दै यो कार्यक्रममा सहभागि हुनु युवाहरुका लागि अवसर रहेको पनि उपाध्यायले बताउनुभयो ।
नमूना युवा संसद कार्यक्रममा बारबर्दिया नगरपालिकाका ११ वटै वडाका १६ देखि २४ वर्ष उमेर समूहका ४० जना युवाहरुको सहभागिता रहेको छ । माघ २४ गते देखी सुरु भएको कार्यक्रम माघ २७ गते समापन हुने आयोजक संस्थाले जनाएको छ ।