भुरीगाउँ, बर्दिया : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको भुरीगाँउ शाखामा तालाबन्दी गरिएको छ । समूहमा बसेका सदस्यहरु माथी लघुवित्तले ज्यादती गरेको आरोपमा लघुवित्त संघर्ष समितिले संस्थाको भुरीगाउँ शाखामा तालाबन्दी गरेको हो ।
एनएमबि लघुवित्त वित्तीय संस्थाले समूहमा रहेका महिला सदस्यहरुसंग कर्जा असुली गर्दा ज्यादती गरेको र अनैतिक तथा अभद्र व्यवहार गरेकोले तालाबन्दी गर्नु परेको लघुवित्त संघर्ष समितिले जनाएको छ । संस्थाको कार्यालयमा सेवालिन पुग्नु भएकी एकजना महिला सदस्यलाई कर्जा असुलीका लागि भन्दै दिनभर कार्यालयमा नै थनेर राखेको आरोप संर्घष समितिले लगाएको छ । एनएमबि लघुवित्तले समूहमा रहेका सदस्यहरुलाई सहुलीयत दिनुको साट्टामा थप कर्जामा डुबाएको लघुवित्त संर्घष समितिकी अध्यक्ष पार्वती कोइरालाले दाबी गर्नुभयो ।
यसै विषयमा एनएमबि लघुवित्त वित्तिय संस्थाको भुरीगाउँ शाखाका प्रमुख रमेश ताम्राकारले भने संस्थाले कसैलाई पनि थुनेर नराखेको र सो आरोप निराधार रहेको बताउनु भयो । लघुवित्तले थुनेर राखेको आरोप लगाइएकी सदस्यले आफ्नो नाममा अरुका लागि कर्जा लिएको र आफुले कर्जा लिइदिएको ब्यक्तिको पर्खाइमा संस्थाको कार्यालयमा बसेको शाखा प्रमुख ताम्राकारले दाबी गर्नुभयो । लघुवित्त संस्थाको नीति नियम अनुसार नै आफुले कार्य गरेको बताउँदे नीति अनुसार नै आफुहरुले नियमको पालना गरि संस्था सञ्चालन गरेको उहाँले बताउनु भयो ।
यसैगरी युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको भुरीगाँउ शाखाबाट कर्जा लिएर नबुझाएको भन्दै सञ्चार माध्यममा नाम प्रकाशन गरेपछि ऋणीहरुले शाखा कार्यालयमा माघ ६ गते तालाबन्दी गरेका थिए । युनिक नेपाल लघुवित्त भुरिगाउँ शाखाले भने पटक–पटक ताकेता गर्दा पनि किस्ता नतिरेको कारणले नाम निकाल्न बाध्य भएको जनाएको छ । ऋणीहरुलाई जानकारी नदिएर ऋणीको नाम सार्वजनिक गरेको भन्दै युनिक नेपाल लघुवित्तमा तालाबन्दी गरेपनि छलफल गर्ने सहमतिमा ताला खोलिएको थियो ।
दोस्रो दिन भएको छलफलमा संघर्ष समिति, लघुवित्तका ऋणी, प्रहरी प्रशासन, लागायतको छलफलमा सेवाअवधि पुगेकाहरुको लागि सेवा शुल्क र विमामा छुट दिने मौखिक रुपमा सहमति भए पनि लिखित रुपमा सहमति नभएको संघर्ष समितिकी अध्यक्ष पार्वती कोइरालाले जानकारी दिनुभयो ।