बारबर्दिया नगरपालिका: नगर अस्पतालमा चिकित्सक अभाव
जयनगर, बर्दिया : बारबर्दिया नगरपालिकाको गौरवको रुपमा रहेको आर.सी. थारु मेमोरियल नगर अस्पतालमा चिकित्सक अभाव हुँदा विरामीहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । अस्पतालले नियुक्त गरेका डाक्टरहरु जागिर छाडेर पढाइका लागि अन्यत्र गएपछि अस्पतालले चिकित्सकहरु ल्याउन नसक्दा सेवा पाउनबाट बिरामीहरु बञ्चित हुनुपरेको हो ।
तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा बर्दियाको बारबर्दिया नगरपालिका स्थित मगरागाडीमा नगरपालिकाले संचालन गरेको स्वास्थ्य केन्द्र नगर अस्पतालको रुपमा संचालनमा छ । बारबर्दिया नगरपालिकाको सहकार्यमा संचालित अस्पतालमा डाक्टर नहुँदा विरामीहरु समस्यामा पर्ने गरेको स्थानीय डोरराज गिरीले बताउनु भयो । कोटा र योग्यता अनुसारको चिकित्सक अस्पतालमा छैनन् । डाक्टरहरु अस्पतालमा आएपनि नटिक्ने गरेको उहाँले बताउनु भयो । आवश्यक जनशक्ति अभावमा सेवाग्राहीहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको अवस्थामा सरकारसंग स्वास्थ्यकर्मीको उचित ब्यवस्थापन गरिदिन स्थानीहरुले माग समेत गरेका छन् ।
अस्पतालले पारिश्रमीकमै डाक्टर राखेपनि विभिन्न वाहानामा डाक्टरहरुले स्वास्थ्य संस्था छाड्ने क्रमले अस्पताल समस्यामा परेको छ । डाक्टर अभावमा अस्पतालले पूर्ण सेवा प्रवाह गर्न वञ्चित भएको छ । विगतमा ३ जना डाक्टरहरु अस्पतालमा रहे पनि अहिले १ जना मात्र डाक्टर मार्फत् सेवा दिँदै आएको आर.सी. थारु मेमोरियल अस्पतालका व्यवस्थापक थिर बहादुर खड्काले बताउनु भयो । करारमा राखिएका दुई जना डाक्टरहरु वृत्तिविकासका लागि अध्ययन गर्न राजीनामा दिएर छाडेपछि यतिखेर अस्पताललाई समस्या परेको छ ।
अस्पताल मार्फत् २४ घण्टे सेवा संगै अन्तरंग, वहिरंग, इमरजेन्सी, बर्थिङ सेन्टर, सिकलसेल, खोप लगायत परिवार नियोजन सेवा अस्पतालमा उपलब्ध रहेको व्यवस्थापक खड्काले बताउनु भयो । अस्पतालमा दिनहुँ ५०-६० जना विरामीहरु सेवा लिन आउँछन् । गर्मीका बेला बिरामीको चाँप बढ्छ । थारु समुदायमा स्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार, परिक्षण र परामर्श सेवा अस्पतालले दिँदै आएको ब्यवस्थापक खड्काले बताउनु भयो । अस्पतालमा विमा सेवा भएकाले पनि नगरका नियमित औषधी सेवन तथा परिक्षण सेवाका विरामीहरुको चाप रहने गर्छ ।
स्वर्गिय पितामाता भैरव बहादुर र चित्रदेवी थापाको स्मृतिमा छोरा बुहारी कपिन्द्र बहादुर थापा र लक्ष्मी थापाले दान दिएको ५ कठ्ठा क्षेत्रफलमा आर.सी. थारु मेमोरियल नगर अस्पताल सञ्चालनमा छ ।