दीपकलाल श्रेष्ठ/बर्दिया : माघ ६ गते शुक्रबार देखि बर्दिया क्रिकेट एकेडेमी र नेपाल क्रिकेट संघ बर्दियाको संयुक्त आयोजनामा सञ्चालित बर्दिया स्कुल कप क्रिकेट – २०७९ को उपाधी लिटिल हेभन स्कुलले जितेको छ ।
माघ १४ गते शनिबार गुलरियाको कबर्ड हल खेलकुद मैदानमा भएको फाइनल खेलमा लिटिल हेभन स्कुल गुलरियाले बंगलामुखी स्कुल गुलरियालाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो । टस जितेर पहिले बलिङ रोजेको लिटिल हेभन स्कुलको तर्फबाट बलिङ्ग गरेका अनोज सिंह ठकुरी र पीयूष प्रजापतिले समान ३÷३ विकेट लिएर बंगलामुखी स्कुललाई १५.५ ओभरमा ६५ रनमै अल आउट गर्न सफल भएको थियो । बंगलामुखी स्कुलमा लागि अर्पण पौडेलले एक मात्र दोहोरो अंक २६ बलमा १२ रन बनाएका थिए ।
६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएकोको लिटिल हेभन स्कुलले क्षितिज थापामगरको बिष्पोटक ब्याटिङसंगै १२ बलमा ७ चौकाको मद्दतले ३६ रन बनाउदै ६ ओभरमा ६६ रनको लक्ष्य पूरा गरेको हो । फाइनलका कसिलो बलिङ गर्दै बंगलामुखी स्कुलको ३ विकेट लिएका लिटिल हेभनका पीयूष प्रजापति म्यान अफ द म्याच बन्न सफल भए । म्यान अफ द सिरिज लिटिल हेभन कै क्षितिज सिंह ठकुरी भएका छन् ।
इमेर्जिङ प्लेयरको उपाधी रजनिश यादवले प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यानको उपाधी सौगात खत्री र उत्कृष्ठ बलरको उपाधी हरशिल जंग शाहिले प्राप्त गरेका छन् । प्रतियोगितामा बर्दिया जिल्ला भरिका ६ वटा विद्यालयहरुको सहभागी रहेको थियो । लिग खेलाइएको प्रतियोगिताको फाइनलमा प्रथम हुने लिटिल हेभनले २० हजार ५ सय प्राप्त गरेको छ भने दोस्रो भएको बंगलामुखी स्कुलले १० हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।