onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया राष्ट्रिय निकुञ्जमा दुई दिनका लागि खर-खडाई खुल्ला

नियम विपरीत कुनै कार्य नगर्न निकुञ्ज प्रशासनको अनुरोध

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि खर–खडाई आज देखि खुलाएको छ । मध्यवर्ती क्षेत्रका स्थानीयबासीको आवश्यकतालाई मध्यनजर गरी हरेक वर्ष केही दिन खर–खडाईका लागि निकुञ्ज खुल्ला गर्ने गरिन्छ । निकुञ्ज जाँदा वन्यजन्तुबाट जोगिन निकुञ्जले सुझाब दिएको छ ।

निकुञ्ज भित्र प्रवेश गर्दा एक्लैदुक्लै नहिँड्न, जथाभावी रुपमा मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको प्रयोग नगर्न र बास्ना आउने खालका वस्तुको प्रयोग नगर्न निकुञ्जले अनुरोध गरेको छ, साथै अनावश्यक रुपमा जथाभावी नियम विपरीत कुनै कार्य नगर्न समेत आग्रह गरिएको छ ।

खर–खडाईका लागि राजश्व वापत् प्रती व्यक्ति पुर्जी दस्तुर ५० रुपैयाँ र संरक्षण शुल्क ५० रुपैयाँ गरि जम्मा १०० रुपैयाँ शुल्क निकुञ्जले लिने गरेको छ । खर–खडाई काट्नका लागि हसिँया र डोरी बाहेक अन्य सामाग्री निकुञ्ज भित्र लैजान निकुञ्जले निषेध गरेको छ । खर–खडाईका बेला हुन सक्ने चोरी सिकारलाई मध्यनजर गरी निकुञ्जको सुरक्षामा थप कडाई गरिएको निकुञ्जका रेञ्जर कलाधर गौतमले बताउनु भयो । माघ ९ र १० गते निकुञ्ज क्षेत्रबाट खर–खडाई संकलन गरि निकासी गर्ने सुविधा निकुञ्जले दिएको छ । खर–खडाईका लागि माघ ७ र ८ गते पुर्जी काटिएको थियो ।

खर–खडाई संकलनको क्रममा निकुञ्जले तोकेको शर्तहरु पालना गर्नुपर्ने छ । वन्यजन्तुबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट निकुञ्ज प्रवेश गर्दा समूहमा हिँड्ने र सुरक्षाका उपाय अपनाउनु पर्नेछ । त्यसैगरी १६ वर्ष मुनिका बालबालिका, बृद्द र अशक्त व्यक्तिलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । खर-खडाई संकलन गर्न विहान ७ बजेदेखी निकुञ्ज प्रवेश गर्ने र साँझ ५ बजे भित्र बाहिर निस्कनुपर्ने जनाईएको छ । त्यसैगरी तोकिएको नाकाबाट प्रवेश गर्ने र निस्कने व्यवस्था गरिएको छ ।

Leave A Reply

Your email address will not be published.