onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाको २७औं साधारणसभा सम्पन्न

Sambad ADD long

ठाकुरद्वारा, बर्दिया : नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उप–शाखाको २७औं वार्षिक साधारणसभा सोमबार ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा रहेको संस्थाको कार्यालय परिसरमा सम्पन्न भएको छ । दिवंगत रेडक्रसकर्मी र आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण पछि ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले विपतको समयमा रेडक्रसले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै मानिसमा मानविय प्रवृति हराउदै गएको परीप्रेक्षमा मानिसमा मानविय भावना जागृत गराउन रेडक्रसको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । नगर प्रमुख लम्सालले ठाकुरबाबा उप–शाखाबाट एक लाख रुपैयाँको उच्चतम सदस्यता यशस्कर ग्रहण गर्नु भएको छ । उहाँ ठाकुरबाबा उप–शाखाबाट उच्चतम सदस्यता ग्रहण गर्ने पहिलो व्यक्ति बन्नुभएको छ । उच्चतम सदस्यता ग्रहण गर्नुभएकोमा नगर प्रमुख लम्साललाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उप–शाखाका सभापती यज्ञ प्रसाद नेपालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उप–शाखाका कोषाध्यक्ष राजेन्द्र प्रसाद शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रतिवेदन अनुसार १५ लाख ६२ हजार ४८५ रुपैयाँ विभिन्न शिर्षकहरुबाट आम्दानी गरेकोमा १३ लाख ५ हजार ८१ रुपैयाँ खर्च भएको छ । नेपाल रेडक्रस सोसाइटीको ठाकुरबाबा उप–शाखामा ४३६ जना आजिवन र १६३ जना साधारण सदस्य गरि ५९९ जना सदस्य रहेका छन् । कार्यक्रममा ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सम्पन्न साधारणसभामा नयाँ आजिवन सदस्यहरु तथा डेनिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित पूर्वानुमानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ठाकुरबाबा नगरपालिकामा कार्य गर्नु भएका सन्तोष बोहरालाई सम्मान गरिएको ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख अतिथ्यता, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सचिव नबराज ढुगांनाको तथा नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखा सभापति कृष्ण प्रसाद गौतमको विशेष अतिथ्यता रहेको थियो । साधारणसभा कार्यक्रममा वर्तमानमा रहनु भएका सम्पुर्ण पदाधिकारीहरु, वुद्धिजिवी, समाजसेविहरु, आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.