onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सामुदायिक गाई व्यवस्थापन चुनौति तिर जाँदै

Sambad ADD long

खेतबारी जोत्‍नका लागि गोरु उत्पादनका लागि तथा दूध खानको लागि पालेका गाईहरु आजभोली सबैको समस्या भैरहेका छन् । दुध दिन छोडेपछि, रोगले समस्यामा परि अनुत्पादक भएपछि तथा वन्यजन्तुको आक्रमणमा परि घाउचोट लागेका गाईहरूलाई किसानहरुले सडक, मन्दिर तथा अन्य सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा छोडिदिने प्रचलन दिन प्रतिदिन बढ्दो अवस्थामा छ ।

हाल नेपालका मुख्यमुख्य शहरका चोक तथा चौराहमा छाडा गाईवस्तुको उपस्थिति बढिरहेको छ । सडकमा यसरी दिनदिनै अनुत्पादक पशुहरुको संख्या बृद्धि हुँदै जाँदा सडक तथा शहर बजारका मुख्य चोक–चौराहाहरु अव्यवस्थित मात्र भएका छैनन्, दिनदिनै सडक दुर्घटनाको जोखिम पनि बढाइरहेका छन् । गाई हाम्रो संस्कृतिसंग समेत जोडिएको जनावर हो । हामीलाई जन्म संस्कार देखि मृत्यू संस्कारसम्म गाईको उत्पादन नभई हुँदैन । प्राङ्गारिक खेति र अर्गानिक उत्‍पादन हाल हामी सबैको मुखमा झुन्डिने शब्द हो ।

हामीले प्राङ्गारिक र अर्गानिक उत्पादन भने पनि प्राङ्गारिक मलको सट्टा रासायनिक मलको प्रयोग दिनदिनै बढिरहेका छौँ । पशुपालन दिनदिनै घटिरहेको छ । रासायनिक मलको प्रयोग अनियन्त्रित हुँदा हाम्रो स्वास्थ्य संगै वातावरणमा समेत नकारात्‍मक असर बढिरहेको छ । तसर्थ वातावरण तथा हाम्रो स्वास्थ्यमा परिरहेको यस्तो नकारात्मक असर कम गर्न खास गरी गाईको संरक्षण गर्दै समुदायमा रहेका छाडा गाईबस्तुको आश्रयस्थल गौशालाबाट निस्कने गोबर तथा गौमूत्रको संकलन गरी प्राङ्गारिक मलको प्रयोगलाई बढाउदै किटनाशक बिषादिको प्रयोग घटाउदै वातावरणीय तथा मानव स्वास्थ्यमा आईपर्ने समस्याहरुलाई केही हदसम्मक कम गर्न सहयोग पुग्ने भएकाले गाई संरक्षण गर्दै लैजान आवश्यक छ ।

हरेक चियाचौतारिमा आज भोलि सडकमा छाडा रहेका गाईहरुको विषयमा चियागफ भैरहेका हुन्छन । अघिल्लो दिनसम्म आफनो गोठमा गाई बाँधेर दुध खाईरहेका हामी दुध दिन छोडेपछी रारारात त्यही गाईलाई आफ्नो घर भन्‍दा टाढाको बजारमा लगेर छोड्छौँ ।

समुदायमा पशुबस्तु अलपत्र हुने क्रम बढ्दै जाँदा छाडा पशुहरुबाट मानिसमा र मानिसबाट पशुमा बिभिन्‍न प्रकारका रोगहरु सर्ने जोखिम उत्तिकै छ । व्यवसायीक पशुपालन फार्महरुमा समेत सरुवा रोगको प्रकोप बढ्ने जोखिम दिनदिनै बढिरहेको छ । बिभिन्‍न महामारी जन्य रोगहरू सडकमा छोडिने गाई वस्तुहरूमा देखिने र समयमै उपचार नपाउँदा रोगले ग्रसित जनावरहरुको सम्पर्कबाट मानव तथा अन्य पाल्तु जनावरहरूमा महामारीको रूप लिने जोखिम समेत बढिरहेको छ । तसर्थ सामुदायिक गाईहरुबाट मानिसमा रोग सर्न नपाओस् भन्‍नको लागि हामी सबै पशुपालक कृषक सचेत हुनुपर्ने समय आएको छ ।

हरेक चियाचौतारिमा आज भोलि सडकमा छाडा रहेका गाईहरुको विषयमा चियागफ भैरहेका हुन्छन । अघिल्लो दिनसम्म आफनो गोठमा गाई बाँधेर दुध खाईरहेका हामी दुध दिन छोडेपछी रारारात त्यही गाईलाई आफ्नो घर भन्‍दा टाढाको बजारमा लगेर छोड्छौँ । अनि चियागफ दिदै ठुलो स्वरमा भन्छौँ सरकारले गाई व्यवस्थापन गर्न सकेन । के हामिले हाम्रो कर्तव्य बिर्सिसकेका हौ त ? कुरा धेरै सोचनिय छ । हाल देशका हरेक स्थानीय सरकारले गौशाला र गाई व्यवस्थापनमा लाखौँ बजेट खर्च गरिरहेका छन् । सरकारले जति ठुलो धनरासी खर्च गर्दै जाँदा पनि जबसम्म हामी सबै आफुबाट आफैलाई परिवर्तन गर्न खोज्दैनाँै समस्या जस्ताको तस्तै रहने अवस्था देखिन्छ ।

शहर बजारको सौन्दर्य मात्र हैन ग्रामिण क्षेत्रमा समेत छाडा छोडिएका गाईको समस्या झन कहालि लाग्दो अवस्थामा रहेको छ । निकुञ्‍ज छेउछाउका बस्तिहरुमा वन्यजन्‍तुबाट मुस्किलले बचाएको बालिनालि छाडा चौपायका बथानले खाईदिँदा थोरै जग्गामा खेति गरेर आफ्नो जिविकोपार्जन गर्ने समुदाय झन् मारमा परेका छन् । वन्यजन्तुले बालिमा क्षती पुगाउँदा केहि राहत पाइएपनि छाडा गाइवस्तुको क्षतीमा राहात दिने प्रचलन देखिँदैन । सडकमा छाडिएका गाई, गोरु, बाच्छाबाच्छी, साँढेहरूको व्यवस्थापनका लागि हामि सबै सचेत हुनु पर्ने टड्कारो हामी माझ आएको छ ।

नेपालको संविधान २०७२ले गाईलाई राष्ट्रिय जनावरको रूपमा महत्वपूर्ण स्थान दिइएको छ । राष्ट्रिय जनावर गाई नेपालको राष्ट्रियतासंग मात्र जोडिएको छैन । आयुर्वेद चिकित्सा विधामा गाईको शुद्ध गहुँतलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले विभिन्‍न धार्मिक कार्यमा पनि गाईको गहुँतको प्रयोग गर्दछन् । पन्‍चामृत बनाउन गाईको दुध नभई हुँदैन । हामिले मनाउने चाड तिहारमा गाईको पुजा गरेर गाई तिहार नै मनाउने संकृति हामीमाझ रहेको छ । हामिले गाईहरुको समयमा नै संरक्षण गर्न सकेनौँ भने गाईको पिसाव (गहुँत) पनि किनेर ल्याउने समय नआउला भन्‍न सकिन्‍न ।

धार्मिक मात्र हैन गाईको पिसावलाई जैविक बिषादिका रुपमा समेत प्रयोग गर्न सकिन्छ । गाईको दुध बिना हाम्रा धार्मिक कार्य सम्पन्‍न हुन सक्दैनन् । गाई व्यवस्थापनमा चुनौति थपिनुको अर्को कारण सामुदायिक वन तथा राष्ट्रिय निकुञ्‍ज समेत हुन् । चरिचरनमा प्रयोग भैरहेका खालि चौर तथा घाँसे मैदानलाई संरक्षित क्षेत्रमा राखिनुले चरन क्षेत्रको अभाव हुँदा केहि पशुपालक कृषक पशुपालनबाट पलायन भएका दृष्टान्त हामीमाझ प्रसस्तै छन् ।

त्यसैले हामिले सामुदायिक गाईहरुलाई घरमा ल्याएर नश्‍ल सुधार गरि उत्पादकत्व बढाएर आर्थिक लाभ लिन सक्छौँ भने अर्कोतिर हाम्रो पोषण स्थितिमा समेत सुधार हुन्छ । अर्गानिक खेतिलाई बढाउदै आफ्नो स्वास्थ्यमा समेत सुधार गर्न सक्छाँै । सरकारलाई गालि गर्दै जाने र गाई बाटोमा छोड्ने काम बन्द नगर्ने हो भने गाई व्यवस्थापनमा थप चुनौति थपिने निश्‍िचत छ ।

Leave A Reply

Your email address will not be published.