ठाकुरद्वारा, बर्दिया : बर्दियाको धार्मिक एवम् पर्यटकिय स्थल ठाकुरद्वारामा पुस ३० गतेदेखि माघे संक्रान्ति मेलाको चहलपहल सुरु भएको छ । ठाकुरद्वारा मन्दिरमा हिजो माघ १ गते माघे संक्रान्तिको दिन दर्शन गर्न आउने श्रद्धालुहरुको बिहानैदेखि घुइँचो लागेको थियो । विगत दुई वर्षदेखि कोभिडका कारण सुनसान जस्तै बनेको ठाकुरद्वारामा यस पटक माघे सङ्क्रान्ति मेलासँगै चहलपहल समेत बढेको छ ।
माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन देखि पाँच दिनसम्म लाग्ने परम्परागत माघी मेलामा ठाकुरद्वारा मन्दिरमा पूजाआजाका लागि टाढाटाढाबाट श्रद्धालुहरु आइपुगेका छन् । ठाकुरबाबाको दर्शन गर्नका लागि छिमेकी जिल्लाहरु संगै भारतबाट समेत श्रद्धालुहरु ठाकुरद्वारामा आउने गर्दछन् । ठाकुरद्वारा मन्दिर धार्मिक, पौराणिक, ऐतिहासिक साथै पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै प्रख्यात छ । यस्तै यो मेला व्यापारको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै अवस्थित छ । ठाकुरद्वारा मन्दिरमा पुजा गर्नाले निसन्तान दम्पतीलाई सन्तान हुने जनविश्वास रहि आएको छ ।
३ सय वर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाँउबाट उचाल्न नसके पछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती रहेको छ । थारु जातीको महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रूपमा भगवान विष्णुको मूर्ती रहेको छ । थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरद्वारा रहन गएको बताइन्छ । मन्दिरको स्थापना अभिलेख केहि नभेट्टीए पनि करीब २५ वर्ष अघि प्रकासीत ओम गोरक्षनाथ पुस्तकमा स्वर्गिय जगन्नाथ योगीले लेखेको ठाकुरबाबा एक चिनारीमा उल्लेख गरीए अनुसार कर्णाली नदिमा शिव लिङ्गको मुर्ति फेला परेको र त्यहीबाट उत्खनन गरी ल्याइएको बताइन्छ ।
धेरै वर्षसम्म सानो झुपडीकै रूपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४५ वर्ष अघि पञ्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुनः निमार्ण गरिएको हो । भुरीगाँउ बजार नजिक पूर्व–पश्चिम राजमार्गको अम्रेनी देखि १३ किलोमिटर दक्षिण तर्फ भुरीगाँउ देखि नेउलापुर गोदाना गाँउ हुँदै ९ किलोमिटर दक्षिण तर्फ र सदरमुकाम गुलरिया देखि ४० किलोमिटर पश्चिम तर्फ ऐतिहासिक ठाकुरबाबा मन्दिर रहेको छ ।