थारु समुदायमा माघीको रौनक, ठाकुरद्वारामा मेलाको चहलपहल सुरु
भुरीगाउँ, बर्दिया : पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिन अघि देखि नै थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् ।
माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायुवती माघीमा मघौटा, सखिया र हुरदङ्वा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आज थारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने गरिन्छ । आज रातभर जागा्रम बसेर भजन कीर्तन गर्ने समेत चलन छ ।
भोलि माघीका दिन बिहानै नजिकैको खोला नदीमा गएर नुहाउने गरिन्छ । नुहाएपछि आफू भन्दा ठूला मान्यजनसंग आशीर्वाद लिने र साथीभाइसंग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । थारू समुदायले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ । माघीमा गाउँका सबै जना जम्मा भएर वर्षदिनका लागि बड्घर अर्थात गाउँको अगुवा, चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।
माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् । माघीको अवसरमा ठाउँठाउँमा मेला महोत्सव पनि हुने गर्छ । यसैबीच ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारा मन्दिर परिसरमा मेला लागेको छ । विगत दुई वर्ष देखी कोरोनाका कारण स्थगित भएको मेला यस वर्ष पुनः संचालनमा आएको हो ।