प्रगती साकोसको २७औं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मानित

बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका–३, बगनाहामा केन्द्रिय कार्यालय रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीले आफ्नो ५ वटा सेवाकेन्द्र र केन्द्रिय कार्यालयको शनिबार एकैसाथ साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७८/७९को अन्त्यसम्म ४ हजार ९८२ जना महिला, ४ हजार २०९ जना पुरुष, संस्थागत ३५, नाबालक १ हजार ९९८ जना गरी ११ हजार २२४ जना शेयर सदस्य रहेको संस्थाले ६३ लाख ५४ हजार ६७३ रुपैया ९ पैसा नाफा आर्जन गरि ३ लाख २७ हजार ८२१ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । आर्थिक वर्षको अन्त्य सम्ममा संस्थाको कुल शेयर ३ करोड ९७ लाख १६ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को अन्त्य सम्ममा ३८ करोड ५४ लाख ८९ हजार ३५० रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३९ करोड ३४ लाख २१ हजार ४७९ रुपैयाँ कर्जा लगानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्म कुल वासलात ४९ करोड ३९ लाख २९ हजार ४३५ रुपैयाँ १६ पैसा रहेको संस्थाका सूचना अधिकारी बिमल खत्रीले जानकारी दिनुभयो ।
सहकारी अभियानकै क्रममा २०५२ साल वैशाख देखि कारोबार संचालन गरी साविकको बगनाहा गा.वि.स.मा स्थायी रुपमा बासोवस गर्ने स्थानीयहरु मिली मानपुर गाऊँमा २०५२ साल भदौ २० गते ४५ जनाको सहभागितामा संस्थाको स्थापना भएको हो । समाजमा छरिएर रहेको स-साना पूँजी रकमलाई बचतका रुपमा एकिकृत गरी समाजमा व्याप्त शोषण, अन्याय, अत्याचार, गरिवी, वेरोजगारीको अवस्था र गाउँका साहु महाजनी प्रथाका कारण चर्को व्याजको मारमा परेका पिडित स्थानीय थारु समुदायको वाहुल्यता भएको ग्रामिण क्षेत्रका जनताहरुलाई संगठित गरी यो प्रगती साकोसको स्थापना भएको संस्थाका अध्यक्ष विजय शाहले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई सम्पूर्ण वित्तिय सेवा प्रदान गर्न, सक्षम समुदायको एक सर्वोकृष्ट सकोसको रुपमा स्थापित गर्ने लक्ष्य लिई संस्था अगाडी बढि रहेको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष शाहले बताउनुभयो ।
संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट नियमित मासिक बचत तर्फ २२ जना, उत्कृष्ट नाबालक बचत तर्फ २० जना र उत्कृष्ट व्यवसायी तर्फ २९ जनालाई बचत खातामा ५०० रुपैयाँ जम्मा गरि प्रमाणपत्र र खादा सहित सम्मान गरिएको छ । बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सहकारीले बचत तथा ऋणको कारोबार संगै रासायनिक मलखादको बिक्री समेत गर्दै आइ रहेको छ । संस्थाले ठाकुरबाबा नगरपालिका-३, बगनाहाको केन्द्रिय कार्यालय संगै सगरमाथा सेवाकेन्द्र, मधुवन नगरपालिका–४, बेलुवा, सिम्रिक सेवा केन्द्र, ठाकुरबाबा–४, मैनवार, सौगात सेवा केन्द्र, मधुवन नगरपालिका-६, कुसुम्बाबजार, बारबर्दिया सेवा केन्द्र, कुमरागाउँ र भुरीगाउँ सेवा केन्द्र, ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँबाट सेवा प्रदान गर्दै आइ रहेको संस्थाको प्रमुख ब्यवस्थापक धन बहादुर रतगैयाँले जानकारी दिनुभयो ।
संस्थाका प्रमुख ब्यवस्थापक धन बहादुर रतगैयाँले संचालन गर्नु भएको २७औं वार्षिक साधारणसभा कार्यक्रम संस्थाका अध्यक्ष विजय शाहको सभापतीत्व तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।