onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाको चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

जनगुनासो नआउने गरी काम गर्न कर्मचारीलाई नगर प्रमुख लम्सालको निर्देशन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/७९ तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले वर्षभरि सम्पादन गरेको कार्यहरुको विषयमा जानकारी गराउनुका साथै नगरले गरेका कार्यहरुको समिक्षा गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रममा सहभागीहरुले ठाकुरबाबा नगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले विकास आयोजनामा भएका ढिलासुस्ती र त्यसबाट नागरिकले भोग्नु परेको समस्या, स्वास्थ्य चौकीमा औषधीको अभाव, बजार क्षेत्रमा फोहोरको समस्या, वन्यजन्तुबाट हुने क्षतिबाट बच्नको लागि अपनाउनु पर्ने समाधानका कार्य, रसायनिक मलको अभाव लगायतका विषयमा प्रश्न सोधेका थिए ।

सहभागीहरूले गुनासोमा नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बिना कुमारी भट्टराई, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल लगायतले जवाफ दिनुभएको नगर प्रमुखको सचिवालय प्रमुख जीवन कंडेलले बताउनुभयो । नगर प्रमुख लम्सालले ठाकुरबाबा नगरपालिकाको बजारक्षेत्रमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो । सहभागीहरुले उठाएका सवालमा यथासक्य छिटो समस्याहरुको समाधान गर्दै नगरपालिकाद्वारा प्रवाह हुने सेवालाई थप परिष्कृत र जनमैत्री बनाउँदै जाने नगर प्रमुख लम्सालले प्रतिबद्दता जनाउनु भएको छ ।

नगर प्रमुख लम्सालले कुनै पनि कुरामा जनगुनासो नआउने गरी काम अगाडि बढाउन नगरपालिकाको सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ । उहाँले नगरका जनताको स्वास्थ्य सुविधाका लागि निर्माणधिन अवस्थामा रहेको नगर अस्पतालको निर्माण कार्य छिट्टै सम्पन्न गरी सेवा प्रवाह गरिने समेत बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले आर्थिक वर्ष २०७८/७९मा भए गरेका सम्पूर्ण कार्यहरूको यथार्थ विवरणबारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न शाखा अन्तरगत सम्पन्न भएका कार्यहरू एवम् हाल सञ्चालनमा रहेका र सम्पन्न हुन बाँकी कार्यक्रमका बारेमा जानकारी गराउँदै नगरपालिकाबाट संचालित विभिन्न कार्यक्रमका सम्झौता र लागत खर्चकाबारे समेत प्रमुख प्रशासकिय अधिकृत रिजालले जानकारी गराउनु भएको छ ।

नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकबाट समेत प्रत्यक्ष प्रशारण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नगरपालिकामा संचालनमा रहेका संघ/संस्था तथा संजालका प्रमुख एवम् प्रतिनिधि, संचारकर्मी, र नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक सञ्जाल फेसबुकबाट गरिएको प्रत्यक्ष प्रशारण :

Leave A Reply

Your email address will not be published.