भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितीका अध्यक्ष एवम् नगर प्रमुख तिलकराम लम्सालको संयोजकत्व तथा नगर उपप्रमुख बिना कुमारी भट्टराईको सहभागितामा पूर्ण हातधुने अभियान अन्तरगत बुधबार ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ४ मा नगरपालिका स्तरीय अनुगमन गरिएको छ ।
पूर्ण सरसफाइ तथा हातधुने स्थान बनाउने अभियान कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ बगनाहा, बर्गदाहा, खैलार, बावनपुर, सैनावार र मैनवार गाउँमा झण्डै १ हजार घरधुरीमा अनुगमन गर्दा ९० प्रतिशत घरधुरीमा हातधुने स्थान बनाइएकोमा ६० प्रतिशत घरधुरीले मात्र प्रयोग गरेको पाईएको उपप्रमुख बिना कुमारी भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा पूर्ण सरसफाइ तथा हातधुने स्थान बनाउने तथा हातधुने स्थान राख्नुको महत्व र यसको उद्देश्यको बारेमा जानकारी दिएर टुटि सहितको हातधुने स्थान नबनाएका घरधुरीहरुलाई यथासिघ्र हातधुने स्थान बनाउन अनुरोध गरिएको ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्यले बताउनुभयो ।
कार्यक्रमलाई सफल पार्न टोल विकास संस्था, बडघर तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुसंग वडा स्तरीय बैठक बसी उनीहरुलाई परिचालन गरी हातधुने स्थान नभएका घरधुरीमा अनिवार्य हात धुने स्थान बनाउन आग्रह गरिएको जनाइएको छ । कार्यक्रम अन्तरगत सम्मान गर्ने, सुची टाँस गर्ने, तथ्याङ्क संकलन गर्ने, टोल विकास संस्था, बडघर र स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तथा प्राप्त तथ्याङ्क वडा कार्यालयबाट प्रमाणित गर्ने कार्य एक हप्ता भित्र वडाको नेतृत्वमा सक्नुपर्ने, हात धुनेस्थान नभएका घरधुरीलाई पहिचान गरी सकेपछि विशेष प्राथमिकतामा राखी अनिवार्य हातधुने स्थान बनाउन लगाउने लगायतका विषयमा छलफल गरी निर्णय गरिएको छ ।
ठाकुरबाबा नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितीका अध्यक्ष एवम् नगर प्रमुख तिलकराम लम्सालको संयोजकत्वमा अनुगमन गरिएको कार्यक्रममा नगर उपप्रमुख बिना कुमारी भट्टराई, वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष अमिन थारु, गेरुवा ग्रामिण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदी, ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बेद प्रसाद भण्डारी, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी लगायतको उपस्थिती रहेको थियो ।