
भुरीगाउँ, बर्दिया : शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल – खजुरा, बाँकेको प्रविधिक सहयोग तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा सैनवार बर्दियाको आयोजनामा बगनाहा स्वास्थ्य चौकीमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
१५३ जना पुरुष र ४८० जना महिला गरी कुल ६३३ जनाले सेवा लिएको शिविरमा परिक्षण गरिएका मध्ये १८ जना पुरूष र १०२ जना महिलालाई थप उपचारका लागि शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा रेफर गरिएको नगर प्रमुख तिलकराम लम्सालको सचिवालय प्रमुख जीवन कंडेलले जानकारी दिनुभयो । शिविरमा स्त्री रोग सम्बन्धि समस्या, नाक कान घाटीको समस्याका साथै छाती, मुटु तथा फोक्सो सम्बन्धि र हाड जोर्नी तथा नसा सम्बन्धि रोगको परीक्षण गरिएको छ । शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण समेत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विशेषज्ञ डाक्टरहरुद्वारा विरामीहरुको चेकजाँच गर्नुका साथै रोगहरुको बारेमा परामर्श समेत दिइएको छ । पुस १५ र १६ गरी दुई दिन संचालन भएको निःशुल्क बृहत स्वास्थ्य शिविर ठाकुरद्वारा र बगनाहामा संचालन भएको हो । ठाकुरद्वारामा भएको शिविरमा ९९ जना पुरुष र १८३ जना महिला गरी कुल २८२ जनाले सेवा लिएको जनाइएको छ ।
पछिल्लो केहिदिन देखि चिसो बढेको र चिसोबाट बालबालिका, जेष्ठ नागरिक, गर्भवती र सुत्केरी आमाहरु बढी प्रभावित हुने भएकाले आवश्यक काम बाहेक बाहिर ननिस्कन, शरीर न्यानो बनाउने लुगा लगाउन र स्वास्थ्यको ख्याल गरेर दैनिक कार्यहरु गर्न डाक्टरहरुले सुझाब दिएका छन् ।