भुरीगाउँ, बर्दिया : शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल – खजुरा, बाँकेको प्रविधिक सहयोग तथा ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा सैनवार बर्दियाको आयोजनामा आधारभुत स्वास्थ्य केन्द्र, ठाकुरद्वारामा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा स्त्री रोग सम्बन्धि समस्या, नाक कान घाटीको समस्याका साथै छाती, मुटु तथा फोक्सो सम्बन्धि र हाड जोर्नी तथा नसा सम्बन्धि रोगको परीक्षण गरिएको छ । शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण समेत गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले उद्घाटन गरी शुभारम्भ भएको शिविरमा ९९ जना पुरुष र १८३ जना महिला गरी कुल २८२ जनाले सेवा लिएको जनाइएको छ । शिविरमा सेवा लिएका मध्य केहिलाई थप उपचारका लागि शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा रिफर गरिएको छ । शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका विशेषज्ञ डाक्टरहरुद्वारा विरामीहरुको चेकजाँच गर्नुका साथै रोगहरुको बारेमा परामर्श समेत दिइएको छ ।
शिविरको उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख तिलकराम लम्सालले शिविरमा पायक पर्ने सबैले सेवा लिन आग्रह गर्नुभयो । फरक प्रसंगमा बोल्दै नगर प्रमुख लम्सालले पछिल्लो केहिदिन देखि चिसो बढेको र चिसोबाट बालबालिका, जेष्ठ नागरिक, गर्भवती र सुत्केरी आमाहरु बढी प्रभावित हुने भएकाले सम्पूर्ण ठाकुरबाबा नगरबासीहरुमा आवश्यक काम बाहेक बाहिर ननिस्कन, शरीर न्यानो बनाउने लुगा लगाउन र स्वास्थ्यको ख्याल गरेर दैनिक कार्यहरु गर्न आग्रह गर्नुभयो । शितलहर र जाडोबाट जोगाउन आगो ताप्ने प्रयोजनका लागि दाउराको व्यवस्था व्यवस्था गरिने बताउनुभयोे ।
आज र भोली गरी दुई दिन संचालन हुने निःशुल्क बृहत स्वास्थ्य शिविर आज ठाकुरद्वारामा संचालन भएको छ भने भोली पुष १६ गते शनिबार ठाकुरबाबा नगरपालिका–४, बगनाहा स्थीत बगनाहा स्वास्थ्य चौकीमा संचालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।