
मैनापोखर, बर्दिया : आवाज बर्दियाले बढैयाताल गाउँपालिकामा बालविवाह न्यूनिकरणको अभियानलाई तिब्र पारेको छ । आवाज बर्दियाले बालविवाह न्यूनिकरण अभियान संगै जबरजस्ती हुने विवाह, यौन हिंसा, दुव्र्यवहार र मानब बेचविखन जस्ता घटना निर्मुल गर्ने लक्ष्य सहित विभिन्न अभियानलाई तिब्र पारेको हो ।
एकपात लक्जम्बर्गको आर्थिक सहयोगमा आवाज बर्दिया संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी सन् २०२० देखि सन् २०२२ सम्म बालविवाह न्यूनिकरण, बाल यौन दुव्र्यवहार लगायत हिंसाजन्य घटनाबाट बच्न र बचाउनका लागि संचालित बिभिन्न कार्यक्रमबाट जोखिममा परेका र संभावित जोखिममा रहेका करिब १ हजार १४० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको जानकारी दिएको छ ।
संकल्प परियोजनाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आवाजका क्षेत्रिय संयोजक चेतन गिरीले बालबालिकाको क्षेत्रमा आवाजले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै बालविवाह मुक्त समाजको परिकल्पना गर्नका लागि राज्य, सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, परिवार सबै प्रतिबद्द भएर लाग्नु पर्नेमा जोड दिनुभयो । बालविवाह रोकथाम तथा न्यूनिकरण अभियान लगायत हिंसा तथा जोखिममा परेका बालबालिकाको उद्दार पछि राख्ने सेफ हाउस बढैयाताल गाउँपालिकामा नभएको गिरीले बताउनु भयो ।
उद्दारमा खटिने अभियन्ता माथिनै धम्की आउने, बनेका कानुनको प्रभावकारी कार्यान्वयन नहुनु स्थानीयतहबाट बजेट बिनियोजन नहुनु जस्ता चुनौति रहेको उहाँले बताउनु भयो । आवाज संस्थाले दुई वर्षको अवधिमा ९० जनालाई आपतकालिन सहयोग, २५ जना लाई पुर्नस्थापना गरेको, हिंसा प्रभावित १५० जनालाई फ्लोप, १५० जनालाई मनोविमर्श, १०० जनालाई पारिवारिक मनोविमर्श, ६० जनालाई कानुनी परामर्श, ३० जनालाई कानुनी प्रकृयामा सहयोग गरेको छ ।
विद्यालय छाडेका १२० जनालाई शैक्षिक सहयोग, बालसुलभ केन्द्रका ९० जना बालबालिकालाई राहत तथा १२० जनालाई स्वास्थ्य सामग्री सहयोग, कोरोना संक्रमित १५० जनालाई स्वास्थ्य सामग्री सहयोग तथा मनोविमर्श सेवा, आर्थिक रुपमा बिपन्न ६० जनालाई राहत लगायतको सेवा प्रदान गरिएको उहाँले बताउनु भयो । संस्थाले कार्यक्रम संचालन गरे पश्चात बालविवाह अन्त्यका लागि समुदाय नै अग्रसर भएर काम गरिरहेको, समुदायमा ३ वटा युवा समूह, ३ वटा भाई समूह, ३ वटा बाल क्लव, ३ वटा निगरानी समूह, २ वटा धार्मिक गुरुहरुको समूह, ६ वटा वुहारी समुह निर्माण भएका छन् ।
क्षमता विकास र स्वपरिचालन भएका छन् भने कार्यक्षेत्रका वडा बाल अधिकार समितिले बालबालिकाका एजेण्डालाई तिब्र पारेको आवाज बर्दियाले जनाएको छ । सुनगाभा होटल मैनापोखरमा भएको पत्रकार सम्मेलनमा बिभिन्न मिडियामा आवद्ध पत्रकार, आवाज संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको आवाज बर्दियाका संयोजक धर्मराज चौधरीले जानकारी दिनुभयो ।